मोरङ जिल्लाको तीन पालिकामा उद्योग प्रवद्र्धनको कार्यक्रम सम्झौता

भदौ ८ गते, पथरी । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवद्र्धनको कार्यक्रम तय भएपछि भएको छ । प्रवद्र्धनको कार्यक्रम तय भएपछि पथरीशनिश्चरे नगरपालिकामा अवधारणाका बारेमा छलफल भएको छ ।

प्रत्येक प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता भई अवधारणापत्रका बारेमा छलफल अघि बढेको हो । जस अन्तर्गत पथरी शनिश्चरे नगरपालिकामा महासंघले नगरमा स्थापित उद्योग व्यवसायको स्तरोन्नती र नयाँ व्यवसाय सुरुवात गर्ने सम्बन्धी अवधारणापत्रमाथि छलफल गराएको छ । पालिकासँगको सहकार्यमा कार्यक्रम अघि बढाइने योजना रहेको छ ।

कार्यपालिका सदस्यहरुबीच भएको छलफलमा महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले सञ्चालन भइरहेको उद्योगको प्रवद्र्धन, नयाँ व्यवसायिक योजना निर्माण, परियोजना तयारी र व्यवसाय स्थापनाका लागि व्यवसायिक ज्ञान तथा सहुलियत कर्जाका लागि बैंकहरुसँग समन्वय गर्ने काम महासंघले गर्ने बताउनु भयो । यसै सन्दर्भमा ०७८ साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासँग सम्झौता भएको बताए ।

विषय विज्ञ बाबुराम रानाभाटले व्यवसायिकस्थलमै विज्ञ तथा प्राविधिक खटाएर प्रवद्र्धनका लागि के कुरामा समस्या भएको हो सो कुरा पत्ता लगाएर प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्य सहितको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै महासंघको केन्द्रीय उद्यम महिला समिति अध्यक्ष शिवा उपाध्यायले महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि यसै कार्यक्रमसँग समेत जोड्ने बताइन् । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय सहितले देशमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गरी उत्पादन बढाएर निर्यात बढाउने योजनाका बारेमा जानकारी गराए । छलफलमा महासंघका जिल्ला अध्यक्ष चेतन निरौला, नगर अध्यक्ष गुरुप्रसाद दहाल सहितका अगुवा उद्यमीहरुको उपस्थिती रहेको थियो ।

छलफलमा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितले नगरमा उद्योग व्यवसाय प्रवद्र्धनको कार्यक्रमले नगरको विकासमा टेवा पुग्ने वताए ।

सम्बन्धित खवर