असोज १४ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित शिवालय टोलका पेस्तोल काण्डमा पक्राउ परेका पूर्ण बोहोरा पाँच लाख धरौटीमा छुटेका छन ।
जिल्ला अदालतले बोहोरालाई पाँच लाख धरौटी लिएर असोज १० गते तारिकमा छाडेको छ भने सोही स्थानका ३० बर्षिय रुद्रबहादुर क्षेत्री(अमरा) पुर्पुक्षमा जेल चलान भएका छन् । रुद्र क्षेत्री(अमरा) भदौ १५ गते राति करिव ११ बजे घरमै पेस्तोल सहित पक्राउ परेका थिए । क्षेत्रीको बयानको आधारमा सोही टोलबाट ४० बर्षिय पूर्णबहादुर बोहोरालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेका थिए ।
पेस्तोल काण्डमा रुद्रले पक्राउ परेदेखि जेल जानेबेलासम्म पेस्तोल पूर्ण बोहोराले दिएको भने पनि बोहोराले स्वीकार गरेको थिएनन् । अदालतले पूर्ण बोहोरालाई पाँच लाख धरौटी लिएर असोज १० गते तारिकमा छाडेको र रुद्रलाई पुर्पुक्षमा जेल पठाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । पेस्तोल पूर्ण बोहोराले राख्दै गर पछि काम लाग्छ भन्दै आफूलाई दिएको रुद्रले बयान गरेको प्रहरीले जनाएको छ ।
पूर्ण बोहोरा नेपाली कांग्रेसको वडा सभापतिको उमेद्वार घोषणा गरेका थिए । अधिवेशनको मुखैमा पक्राउ परेको बोहोरा सकिएपछि धरौटीमा छुटेका हुन् । रुद्र अमेरिकामा बनेको पेस्तोल, म्यागजिन र गोली सहित पक्राउ परेका थिए । बोहोराको परिवारले भने फसाउने प्रयास भएको भन्दै निष्पक्ष छानविनको माग गर्दै आएका थिए ।