आमाको किरिया गर्दै दुई बालिका, छोरीले पिण्ड दिन नहुने भन्दै पण्डितहरुले पुजा गर्नै मानेनन्

इटहरी । सुनसरीको इटहरी–१३ मा महिनाको एक हजार रुपैयाँ तिर्ने गरी लिएको माटोले पोतिएको उनीहरुको एउटा झुप्रो कोठा छ । भान्छा त्यहीँ, ओछ्यान त्यहीँ, अनि सानो पसल पनि त्यहीँ । त्यही पसलबाट सामान बेचेर जिविकोपार्जन गर्ने परिवार अहिले शो कमा डुबेको छ । १६ वर्षीया सनम आचार्य र उनकी ११ वर्षीया बहिनी स्वेच्छालाई छाडेर उनीहरुकी आमा राधा पर लोक भइन् । लामो समयदेखिको बाथ रोगसँग जुध्दै आएकी राधाको घरमा त्यस दिन पुजा थियो । ‘ग्रहशान्तिको पुजा थियो, पुजा पनि सकियो, ममि पनि जानुभयो,’ सनमले भनिन, ‘बिरामी हुनुहुन्थ्यो, तर ऐय्या–आत्था कहिल्यै गर्नुभएन।’

केही वर्षदेखि श्रीमती र छोरीहरुलाई छाडेर बाहिरै बसेका उनीहरुका बुवाको पनि एक वर्षअघि मृत्यु भएको थियो । आफन्तहरुले समेत हेला गर्ने उनीहरुको दुःखेसो छ । राधाको मृत्यु भएको सात दिनसम्म पनि राधाको घरतिरका आफन्तहरु कोही आएनन् । किरिया बस्ने पनि कोही नभएपछि अन्ततः छोरीहरुलाई नै किरिया बस्न लगाउने निर्णयमा पुगेको सनमकी ठूलीआमा शोभा कट्वालले बताइन् ।

तर छोरीले पिण्ड दिन नहुने भन्दै पण्डितहरुले पुजा गर्नै मानेनन् । ‘कसैले के भने, कसैले के भने’ कट्वालले भनिन्, ‘हामी सबैले मानेको कुरो पण्डितले मानेनन् ।’ किरिया गर्ने पण्डित नभेटेको थाहा पाएपछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले घरमै पुगेर सहजिकरण गरिदिइन् । ‘तीन, चार जना पण्डितले किरिया नगर्ने भनेका थिए,’ गौतमले भनिन, ‘मैले कुरा गरेपछि उपमेयरले नै भनेपछि गरिदिन्छु भनेर एक जनाले भन्नुभयो।’ बिहीबारदेखि छोरीहरुले आमालाई पिण्ड दिन थालेका छन् ।

आर्थिक स्थिति कमजोर रहेको कारण गाउँलेले सहयोग गरिरहेका छन् । यता इटहरी उपमहानगरपालिकाले समेत किरिया खर्च सहयोग गर्ने आश्वासन दिएको छ । बुवाले छाडेर गएपछि एक्ली आमाको पालन पोषणमा हुर्किँदै गरेका दुई बालिकाहरु अविभावकविहिन बनेका छन् । काजकिरिया सकिएपछि कसले पाल्छ त? ‘ठूलोममीकोमा बस्छु,’ सनमले आँखा भरी आँशु पार्दै भनिन् । अनलाइनबाट

सम्बन्धित खवर