
१८ कार्तिक, पथरी । मोरङ पथरी शनिश्चरे नगरमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा एनआरटी काठमाडौ विजयी भएका छन ।
मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा एनआरटी काठमाडौंले झापा ११ लाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा झापाका नवयुग र पुजन श्रेष्ठका प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छेदारले बचाए। झापाका प्रदीप बुढाथोकी र प्रेम तामाङ मात्र गोल गर्न सफल भए।
एनआरटीका सरोज घिसिङ, सनम लिम्बू, रोहन खड्गी र आकाश राईले सफलतापूर्वक प्रहार गोलमा परिणत गरे। असीम राईको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोक्न सफल भए।
एनआरटीका गोलरक्षक गच्छेदार ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।
यससँगै पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। पहिलो सेमिफाइनल बुधबार पाँचथर क्लब र सिरहाको सलहेश युवा क्लबबीच हुनेछ।
तस्विर: गोपाल काफ्ले



