प्रेस चौतारीले पत्रकार महासंघमा लगायो ताला, समर्थक बढ्दै

भदौ २५, मोरङ । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरुले पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा आइतबार ताला लगाएका छन् । महासंघको सदस्यता शुद्धिकरणमा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै प्रेस चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित बन्दै ताला लगाएका हुन् ।

आन्दोलनमा प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा तालाबन्दी गरेका थिए । माग पूरा नभएसम्म महांसंघको कार्यालयमा लगाएको ताला नखोलिने चौतारीका अध्यक्ष बिष्टले जानकारी गराए ।

जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नविकरण गरिँदैन तबसम्म तालाबन्दी कायम रहने अध्यक्ष विष्टले बताएका छन् । समस्या समाधानका लागि चौतारी वार्ताका लागि तयार रहेको बिष्टले जनाएका छन् । पत्रकार महासंघले विभिन्न जिल्लाको सदस्यता शुद्धिकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै कोशी प्रदेशमा प्रेस चौतारी आन्दोलित हुँदै आएको छ ।

सदस्यता शुद्धिकरणको नाममा महासंघ केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै चौतारीले सदस्यता शुद्धिकरण तथा नविकरणका लागि पत्रकार महासंघमा पठाइएको नाम समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ ।
पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण र गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागी सिफारिस गरेको आरोप महासंघ र यसमा आाबद्ध पदाधिकारीलाई लागेको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड पालना हुनुपर्ने चौतारीको भनाइ छ । सो क्रममा एस पत्रकार मञ्चले पनि समर्थन जनाएको छ । यस्तै स्वतन्त्र पत्रकार मञ्च मोरङले पनि समर्थन जनाएका छन् ।

सम्बन्धित खवर