१० साउन, कानेपोखरी । रमाइलो प्रहरी चौकीले लागूऔषध कारोबारको सञ्जाल तोड्न निरन्तर निगरानी र कारबाही जारी राखेको जनाएको छ । प्रहरीले केही महिनायता संचालन गरेको अपरेशनमा ब्राउन सुगर र गाँजा कारोबारमा संलग्न डिलरदेखि प्रयोगकर्तासम्म पक्राउ गरी दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
हिजो राती ८ः३० बजे कानेपोखरी क्षेत्रमा लागूऔषध(ब्राउन सुगर) ल्याई कारोबार गर्ने मोरङ बेलबारी नपाका एकजना बिक्रेतालाई रमाइलो प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ ।
बेलबारी ११ लक्ष्मिमार्ग बस्ने वर्ष २९ को रणध्वज राईलाई पक्राउ गरेको हो । उनलाई ६.३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । राईले प्रयोग गरेको प्रदेश १–०२–००४४ प ११८ नम्बरको बजाजको २२० सिसिको मोटरसाइकल पनि प्रहरीले बरामद गरेका थिए ।
रमाइलो प्रहरी चौकीका सई सदानन्द कुमार यादवको नेतृत्वको टोलीले कानेपोखरी–रंगेली सडक अन्र्तरगत वडा नं. २ को गेउरिया पुलमा चेकजाँचको क्रममा फेलापरेको प्रहरीले जनाएको छ ।

दक्षिणबाट आएका उनलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल छोडेर भागेका थिए । दुई किलोमिटर टाढा भागेपछि प्रहरीले पक्राउ गरेको थियो । मोटरसाइकलमा पछाडी सवार घटना स्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रणध्वज राईले दक्षिण सिमावर्तीबाट लागुऔधष(ब्राउन सुगर) ल्याई कानेपोखरी क्षेत्रको डिलरहरुमा विक्री गर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि राती नै इलाका प्रहरी कार्यालय पथरी लगिएको थियो ।
अघिल्लो दिन मात्र ३ ग्राम ब्राउन सुगर सहित वर्ष २७ को पर्वत राई र वर्ष २५ को अमित धिमाललाई प्रहरीले छापामारी पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार राती ११ः३० बजे वडा नं.–५ स्थित मानेचौकबाट पक्राउ गरेका थिए ।



