पुस २० गते, पथरी । मोरङको पथरीशनिश्चरे –९ मा उद्यमशीलता विकास तालिम आज मंगलबारबाट सुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको हो ।
नगरको लघु उद्यम विकास शाखामार्फत आयोजित तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै एक व्यक्तिले धेरै तालिम लिइ प्रमाणपत्र भेला पार्नुभन्दा एउटा विषयको तालिम लिएर आफु व्यवसायिक वन्नतर्फ सहभागिको ध्यानाकर्षण गराएका थिए ।
कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा वडा सदस्य खरिन्द्र धिमाल, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्दैछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।
यसैबीच, नगर उपप्रमुख वास्तोलाले वडा नम्बर २ मा सञ्चालित लघु उद्यम कार्यक्रम अन्तर्गत सिलाइ कटाइ तालिम र सोही वडामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (दोस्रो) कार्यक्रम अन्तर्गत गौरी इन्टरनेशनल टेक्निकल एकेडेमीले सञ्चालन गरको ३ महिने निःशुल्क टेलरिङ तालिमको पनि अनुगमन गरेकी थिइन् ।