मंसिर ८ गते, काठ्माडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न शर्माको आग्रह छ । शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा घटौं भेटवार्ता भएको थियो ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए । ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो,’ उनले भने ।
प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि उनले आग्रह गरेका छन् । अहिले सरकारमा सहभागी हुने कांग्रेसको रुचीको विषय नभएको उनले बताए ।
जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको शर्मा बताउँछन् । उनले नेकपाभित्रको द्वन्दमा कांग्रेस पुरै निरपेक्ष रहेको समेत बताए ।
‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौँ । नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौँ । उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो,’ उनले भने ।
कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको दाबी गर्दै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति अगाडि बढ्ने गरेको बताए । सेतोपाटीबाट