भदौ १७ गते, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरीले बुधबार राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी वल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको सशस्त्र प्रहरी वल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जनाए ।
एसपी पौडेलका अनुसार घरमा हतियार लुकाएको विशेष सूचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली पुगेको थियो ।
घरमा छापा मार्ने क्रममा मेड इन युएसए लेखिएको अमेरीकन एउटा पेस्तोल, तीन राउन्ड गोली र एउटा खुकुरी फेला परेको पौडेलले बताए ।क्षेत्रीले दिएको बयानका आधारमा प्रहरीले स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई पनि पक्राउ गरेको छ । तर हतियारसँग जोडिएको क्षेत्री र बोहोराबीचको सम्बन्धका बारेमा भने प्रहरीले केही खुलाएको छैन ।
दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । अनुसन्धानपछि हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा प्रष्ट हुने उनको भनाइ छ ।