असार १४ गते, पथरी । पूर्वी मोरङका पालिकाका जनप्रतिनिधिहरुसँग राष्ट्रिय भूूमि आयोगले भूमि सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग कानूनी अवस्था, त्यसको प्रक्रिया र भूमिको वस्तुस्थितीका बारेमा छलफल गरेको हो ।
जिल्लाको बेलबारीमा आयोजित कार्यक्रममा नापी विभागका अधिकृत मणि रेग्मीले सहजिकरण गर्दै जिल्ला र पालिकास्तरमा भूमिको समस्या समाधानको कार्ययोजना निर्माण गरेर योजनावद्ध अघि बढ्नु पर्नेमा जोड दिए । उनले वडा, पालिकादेखि जिल्ला आयोगसम्मको कानूनी चरणवद्ध प्रक्रियाका बारेमा जानकारी गराए ।
कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आफ्नो सहित कानेपोखरी लगायतका पालिकाहरुमा पहिले ढालफाँड गरी जोतभोग गर्ने एउटा र त्यसको पछि पूर्जा निकाल्ने अर्काे भएकाले त्यसको छानविन गरी वास्तविक जोतभोग गर्नेलाई पूर्जा वितरण गर्ने प्रक्रिया आयोगले अघि बढाउनु पर्ने बताए । त्यसैगरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनामले वास्तविकता पहिचान गरी तल्लोस्तरका जनताको समस्या समाधानमा केन्द्रीत भएर काम गर्नु पर्ने बताएकी थिइन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगर प्रमुख केदार गुरागाईं, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, रतुवामाई नगर प्रमुख नागेश्वर सिंह तथा र बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले बोलेका थिए ।
आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्ला अध्यक्ष सुशीला घिमिरेले पालिकाहरुको सहकार्यमात्रै नभएर वडादेखि पालिकासम्मको सिफारिसमा यथार्थतामा आधारित भएर आयोगले काम गर्ने वताए । जिल्ला अध्यक्ष घिमिरेले अघिल्ला आयोगको पालामा पुरा हुन वाँकी अधुरा कामको प्रक्रिया अघि बढाउने काम भएको वताए । जिल्लाका हाल ८ वटा पालिकाकामा आयोगका ३१ जना प्राविधिकबाट नापी प्रक्रियाको काम अघि बढाएको उल्लेख गरे ।