
२३ असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरेको हो ।
प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल, आधारभूत तह शिक्षकतर्फ सोही विद्यालयकी शिक्षिका राजमाया राई, माध्यमिक तह शिक्षकतर्फ भागीरथ माध्यमिक विद्यालयका शैलेन्द्र बस्नेत तथा प्रारम्भिक बाल विकास सहजकर्तातर्फ हिरक आधारभूत विद्यालयकी मायादेवी दाहाल सम्मानित भएका हुन ।
चारै जनालाई जनही नगद १३ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लाले सम्मन गरेको थियो । प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष अर्जुनकुमार बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सम्मानितहरूको तर्फबाट रिता कुमारी धिमाल र शैलेन्द्र बस्नेतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले शिक्षक सम्मानको परम्पराले शिक्षण पेशाप्रति थप उत्साह र जिम्मेवारी बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगरको शिक्षा शाखा सदस्य एवं वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, विद्यालयका प्रधानाध्यापक र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले सञ्चालन गरेका थिए ।



