दिनेश सुब्बा
२१ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी स्थित इटहरीले आयोजना सम्पन्न गरी उपभोक्ता समितिलाई स्वामित्व हस्तान्तरण गरेको हो ।
आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सुुनसरीका डिभिजन प्रमुख विकास काफ्लेले संयुक्तरुपमा स्वामित्व हस्तान्तरण गरेको थियो । खानेपानी आयोजनाको स्वामित्व बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विजयगोपाल गड्तौलालाई औपचारिक रुपमा हस्तान्तरण गरिएका थिए ।
स्वामित्व हस्तान्तरणसँगै आयोजनाको सञ्चालन, संरक्षण, मर्मत–सम्भार तथा व्यवस्थापनको जिम्मेवारी उपभोक्ता समितिले नै सम्हाल्नेछ ।
हस्तान्तरण गरिएको स्वामित्व–पत्रअनुसार आयोजनाको कुल लागत ६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहेको छ । आयोजनाबाट कानेपोखरी गाउँपालिका वडा नं. ७, ६, ४ का करिब २२ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आयोजनाअन्तर्गत पानी संकलन तथा प्रशोधन संरचना, बोरिङ, पाइपलाइन विस्तार, २२ सय धारा जडान, उपभोक्ता समितिको कार्यालय भवन, चौतारा, कम्पाउण्ड वाल, सौर्य प्रणाली, ६२.५ केभीए क्षमताको जेनेरेटर, घर–घर मिटर जडान, फायर हाइड्रेन्ट लगायतका पूर्वाधार निर्माण गरिएको स्वामित्व–पत्रमा उल्लेख छ ।
समितिले सुरक्षित, स्वच्छ र दिगो खानेपानी सेवा उपलब्ध गराउँदै पानीका स्रोतको संरक्षण तथा उपभोक्तामुखी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विजय गोपाल गड्तौलाले संस्थाको बारेमा बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, विशिष्ट अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सुुनसरीका डिभिजन प्रमुख विकास काफ्ले, अतिथि ७ नम्बरका वडा अध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ६का वडा अध्यक्ष खड्ग बस्नेत लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा कानेपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खगेश्वर खतिवडा, ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समितिका सचिव केदार राई, दहिलामी चौरी सामुदायिक वनका अध्यक्ष त्रिभूनाथ नेपाल, कानेपोखरी अस्पतालका प्रशासन प्रमुख रोहिन्द्रकुमार राजभण्डारी लगाएत अतिथि रहेका थिए । कार्यक्रम एविन पाठकले सञ्चालन गरेका थिए ।



