
१६ असार, कानेपोखरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिमाल, पहाड र गाउँहरु सुन्दर भएपनि दिनदिनै खालि हुदै जाने तर ठुला सहरहरुको बस्ती बढ्दै जाने क्रमले देशमा समस्या भईरहेको बताएका छन ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नंं. ४ मा रहेको ‘बयरवन बजार’ ले १०० वर्ष पूरा गरेको ऐतिहासिक शताब्दी समारोह कार्यक्रम बसाई सराई सहर केन्द्रित भएकोले सिमित साधन र स्रोतले गर्दा समस्या भइरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले वस्तु विनिमय गर्ने स्थलको रुपमा बजार स्थापना भई क्रमश विकास भईरहेको बजारको विकास, विस्तार र सुदृढीकरणको लागि कस्तो योदान गर्दा गर्नुपर्छ, के गर्दा बजारको गरिमा बढ्छ, के गर्दा यहाँका मानिसहरु बसाई हिड्न छोड्छन् त्यो स्थानीय सरकार र प्रदेश सरकारले सहकार्य गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि रहेका कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बयरवन बजार विकासमा कानेपोखरी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेका बताए । बयरवन बजार सम्म पुग्ने रमाइलो–बयरवन बजार, कालिस्थान–बयरवन बजार, नारायण चोक–बयरवन बजार, हरकपुर–बयरवन बजार, नेपालटोल–बयरवन बजारको कालोपत्रे सडक तीन तहको सरकार मार्फत कालो पत्रे गरिसकेको बताए । साथै १५ सैयाको कानेपोखरी हस्पिटल पनि बयरवन बजारमै निर्माण गरिएको, विद्यालयको भवन निर्माण, बजार टहरा लगाएतको विकास गरिरहेको यो निरन्तर रहने उपाध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा पूर्व भुूमि आयोग मोरङ अध्यक्ष नविन पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ सभापति महेन्द्र बोहोरा, युवा नेता मनोज राजवंशी, वीरबहादुुर भट्टराई लगाएतले मन्तव्य राखेका थिए । त्यस्तै वडा अध्यक्षहरु खड्ग बस्नेत र चरण गुरुङ, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, साउनी माझी र वडा सदस्यहरु अतिथि रहेका थिए । त्यस्तै कार्यक्रमका सभापति बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप शेर्पाले बजारको इतिहासको बारेमा पढेर सुनाएका थिए । स्वागत मत्व्य ४ नम्बर वडा अध्यष रमेश राउतले गरेका थिए भने कार्यक्रम सञ्चालन लोकेन्द्र शाक्यले गरेका थिए ।
कार्यक्रममा बयरवन बजार विकास गर्ने साथै इतिहास जान्ने १२ जना लाई सम्मान गरिएको थियो ।
कार्यक्रम सुरु हुनु भन्दा पहिले स्थानीयको उपस्थितमा पिनाकल ज्ञान मन्दिरका स्काउट, नौमति बाज, प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिसहित बजार परिक्रमा गरी कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा मनोज माझीद्धारा प्रशिक्षण गरिएको पिनाकल ज्ञान मन्दिरका विद्यार्थीहरुको स्वागत नृत्य रहेको थियो ।

बयरवन बजारको छोटो इतिहास
बयरवन बजार मोरङ जिल्लाका पुराना तथा ऐतिहासिक बजारमध्ये एक हो । स्थानीय अग्रज, ज्येष्ठ नागरिक तथा उपलब्ध ऐतिहासिक तथ्यका आधारमा बयरको ठूलो घारी रहेको स्थानलाई फाँडेर बस्ती विस्तारसँगै ‘बयरवन हटिया’को सुरुआत भएको तत्य भेटिन्छ । स्थानीय राजवंशी समुदायले यस बजारलाई ‘डालाफोट हाट’ नामले समेत चिन्ने गरेका थिए ।
विगतमा धनकुटा, छथर, भोजपुरलगायत पहाडी जिल्लाबाट व्यापारीहरू बयरवन बजारमा व्यापार गर्न आउने गर्थे । बुधबार र शनिबार लाग्ने हटियामा स्थानीय कृषि उपजदेखि दैनिक उपभोग्य वस्तुको किनबेच हुने भएकाले बयरवन बजार यस क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित भएको थियो । बजारमा किनमेलपछि छेउमै रहेको तातो जलेबी खाने र बिहानपख चिया पिउने परम्परा अहिले पनि कायम रहेको उल्लेख गरिएको छ ।
इतिहासको यात्रामा बजारले विभिन्न उतारचढाव पनि व्यहोरेको छ । विशेषगरी वि.सं. २०२९ र २०३६ सालमा भएको भीषण आगलागीबाट ठूलो धनजनको क्षति भए पनि स्थानीय बासिन्दाको एकता, मेहनत र दृढ इच्छाशक्तिका कारण बजार पुनः निर्माण भई निरन्तर विकासतर्फ अघि बढेको बताइएको छ । यस क्षेत्रको विकासमा रेवेन गाउँ पञ्चायत, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा विभिन्न सामाजिक संस्थाको स्थापना र विस्तारमा स्थानीय अग्रजहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गरिएको छ ।
बयरवन बजारको इतिहास संरक्षण, अग्रजहरूको योगदानको सम्मान, स्थानीय पहिचानको प्रवद्र्धन तथा भावी पुस्तामा ऐतिहासिक विरासत हस्तान्तरण गर्ने साझा अभियानका रूपमा सफल बनाउन सबै सरोकारवाला निकाय र समुदायसँग सहयोगको अपिल गरेका छन् ।




