
१६ असार, कानेपोखरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित हरकपुरमा २३ औं राष्ट्रिय धान दिवशको अवसरमा रोपाइँ कार्यक्रममा उहाँले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका हुन । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।
नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गरेका छन् । पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सरकारको खरिद प्रकृयाको समस्याले गर्दा कृषिमैत्री बजेट कानेपोखरी गाउँपालिकाले ल्याउन नसकेको बताए । उहाँले अघिल्लो आर्थिक वर्षमा कृषकहरुलाई हाते ट्याक्टर धेरै वितरण गरिएता पनि अहिले त्यो ट्याक्टर कृषकहरुसँग नभएको बताउदै कानेपोखरी गाउँपालिका कृषिमा आधारित गाउँपालिका भएको बताए ।
कानेपोखरी गाउँपालिका, कृषि ज्ञान केन्द्र मोरङ तथा राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाई मोरङको संयुक्त आयोजनामा धान रोपाइँ कार्यक्रम भएको थियो । धान रोपाइँका दिन आधुनिक ट्रान्सप्लान्टर मेसिनबाट धान रोपेका थिए । कानेपोखरी गाउँपालिकाको कर्मचारी, कृषि शाखा लगाएत स्थानीयहरुको बाक्लो उपस्थितमा सामूहिक धान रोपिएको थियो ।
सोही कार्यक्रममा मुख्यमन्त्री कार्कीले स्थानीय कृषक लिलाबहादुर कार्कीलाई ट्रान्सप्लान्टर मेसिन र ट्याक्टर हस्तान्तरण गरेका थिए । कृषक कार्कीलाई ट्रान्सप्लान्टर मेसिन ८५% अनुदानमा र ट्याक्टर ५०% अनुदानमा दिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कार्यक्रम कोशी प्रदेशका सचिव डा.पशुपति ढुङ्गाना, कृषक द्रोण पौडेल लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा अध्यक्षहरु गोपाल बहादुर कार्की, वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्यहरुको उपस्थित रहेका थिए ।



