असोज १ गते, पथरी । मोरङको पथरीशनिश्चने नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरको शैक्षिक स्तर उकास्न नगरपालिकाले थप लागि पर्नुपर्ने बताउनु भएको छ ।
निजि तथा संस्थागत विद्यालयहरुको साझा संगठन प्याव्सन पथरीशनिश्चरेको दोस्रो अधिवेशन उद्घाटन् कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै उपप्रमुख वास्तोलाले सो कुरा बताउनु भएको हो । उहाँले सामुदायिक विद्यालयका शिक्षकहरुले पनि उस्तै मेहनत गर्न आवश्यक रहेको सुझाव दिदै शिक्षाको गुणस्तरणमा विद्यालयहरुले ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।
नगरको शिक्षा विभाग प्रमुख (उपसचिव) सालिग्राम काफ्लेले सरकारको नीति तथा नियमभित्र रहेर शैक्षिक क्षेत्रलाई सहज गर्ने कोशिस गरेको बताउनु भयो । संघीयता लागू भएपछि देशमा शिक्षा क्षेत्रमा भएको दरबन्दी मिलान सहज भएको उल्लेख गर्दै नगरमा शिक्षा क्षेत्रमा रहेको विकृतिको अन्त्य गर्न लागि परेको काफ्लेले जनाउनु भयो ।
एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा हाल उपचाररत सञ्चारकर्मी विजय खम्बुलाई ११ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । सोहि अवसरमा पथरिशनिश्चरे क्षेत्रको एभरेष्ट बोर्डिङ स्कुलमा विगत ३० वर्षदेखि निरन्तर अध्यापन गर्दै आएका जगनाथ नेपाल र २३ बर्षदेखि कार्यरत कर्मचारी कुन्ता गुरुङलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा, कोरोना भाइरसको संक्रमितहरूलाई राहत स्वरुप साढे पाँचलाख नगद सहयोग उपलब्ध गराएको र कोरोना पीडित बनेका मिक्लाजुङ प्याब्सन अध्यक्ष बिकास गुरुङलाई एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको आर्थिक प्रतिवेदन सुरेन्द्र लिम्बूले प्रस्तुत गर्नुभयो ।