३ भदौ, मोरङ । प्याब्सन कानेपोखरी गाउँपालिकाको आयोजनामा एकदिने पठन संस्कृति सम्बन्धी अनुशिक्षण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कानेपोखरी क्षेत्रका प्याब्सनमा आवद्ध विद्यालयका ३५ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षक–शिक्षिकालाई विद्यालय तथा कक्षाकोठामा पठन संस्कृतिको विकास, विद्यार्थीमा पढ्ने बानीको विकास तथा पठनप्रतिको रुचि अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विभिन्न सिर्जनात्मक तथा बालसाहित्यका सामग्री पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा प्रशिक्षकका रूपमा लोकेन्द्र शाक्यले सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिकामा पठन संस्कृतिको विकासका लागि शिक्षक, विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै नियमित पठनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षणमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका सहभागी शिक्षक–शिक्षिकालाई कानेपोखरी प्याब्सनले प्रशंसा–पत्रसमेत प्रदान गरेको थियो ।
कार्यक्रम कानेपोखरी प्याब्सनका संयोजक सविन बस्नेतको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा कानेपोखरी प्याब्सनकी अध्यक्ष मनकुमारी गुरुङको समेत उपस्थिति रहेको थियो।
विद्यालय तहदेखि नै पठन संस्कृतिको विकास गर्न सके विद्यार्थीमा अध्ययन गर्ने बानी, सिर्जनशीलता, भाषिक क्षमता र ज्ञानको दायरा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।



