दिनेश सुब्बा
३१ साउन, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा लागूऔषध कारोबारी र प्रयोगकर्ताको सञ्जाल तोड्न सक्रिय रहेको रमाइलो प्रहरी चौकीले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । प्रहरीले शनिबार राति ठूलो परिमाणमा ब्राउन सुगर, नगद र चोरीका जिन्सी सामानसहित लागूऔषधका दुई मुख्य कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कानेपोखरी वडा नं. ३, थानटोलीका ३५ वर्षीय रेवत कार्की र वडा नं. २ का २६ वर्षीय सुजन ऋषिदेव रहेका छन् । रमाइलो प्रहरी चौकीका प्रमुख, सई सदानन्द कुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा शनिबार राति १०ः१५ बजे कार्कीको घरमा छापा मारेको थियो । उनीहरूको साथबाट प्रहरीले ११ः३६ ग्राम ब्राउन सुगर र ६३ हजार ४ सय ८५ रुपैयाँ नगद बरामद गरेको छ ।
सई यादवका अनुसार पक्राउ परेका दुवै जना त्यस क्षेत्रमा लागूऔषधको मुख्य ‘डिलर’ सञ्चालन गर्दै आएका व्यक्ति हुन् । उनीहरूको घरबाट प्रहरीले सुनको सिक्री १ थान, चाँदीको बाला २ थान, चाँदीको औँठी २ थान, कानमा लगाउने कुण्डल ४ थानलगायत अन्य चाँदीका टुक्राहरू बरामद गरेको छ । यसका साथै काँसका थालहरू र दुई थान सादा मोबाइल सेटसमेत फेला परेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध प्रयोगकर्ताहरूले गाउँघरबाट पैसा, सुन, चाँदी, काँसका भाँडाकुँडा र मोबाइल चोरी गरी यिनै डिलरमा ल्याएर ब्राउन सुगरसँग साटेर सेवन गर्ने गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय पथरी पठाइएको रमाइलो प्रहरी चौकीले जनाएको छ ।

लागूऔषधविरुद्ध प्रहरीको निरन्तर कारबाही
पछिल्लो समय रमाइलो प्रहरी चौकीले लागूऔषध नियन्त्रणमा निरन्तर निगरानी र कारबाही बढाएको छ । यसअघि साउन २९ गते शुक्रबार राति ९ः ३० बजे कानेपोखरी–४ का २४ वर्षीय मिनेस घिमिरेलाई २ं.५ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी, साउन २४ गते दिउँसो ४ बजे पनि रमाइलो प्रहरीकै टोलीले लेटाङका ३८ वर्षीय टंकप्रसाद राईलाई ४.४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । प्रहरीले उनी सवार प्र.१–०२–०४३ प ९१६ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको थियो । पछिल्ला यी निरन्तर कारबाहीले कानेपोखरी क्षेत्रमा लागूऔषधको सञ्जाल भत्किँदै गएको स्थानीयले महसुस गरेका छन् ।



