भुजेल समाज सेवा समिति मोरङद्धारा ५ जनालाई सम्मान

भदौ २४, पथरी । भुजेल समाज सेवा सम्वनय समिति मोरङले ४ जना जेष्ठ नागरिक र अट्टो चालक महिलालाई सम्मान गरेको छ ।

भुजेल समाज सेवा सम्वनय समिति मोरङले चेलीबेटी भेटघाट तथा भुजेल महिला समाज सेवा समिति र भुजेल युवा समाज सेवा समितिको जिल्ला अधिवेशनको कार्यक्रममा सम्मान गरेको हो ।

पथरीशनिश्चरे नगरका जेष्ठ नागरिक चन्द्रमाया खवास, दुर्गा बहादुर भुजेल, टिका राम भुजेल र भद्रमाया भुजेललाई सम्मान गरिएको छ । उनिहरुलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी कानेपोखरी गाउँपालिका महिला सिटी सफारी चालक अन्जना भुजेललाई १ हजार नगद सहित दोसल्लाहले सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख देवीमाया काफ्ले, विशिष्ट अतिथि भुजेल समाज सेवा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र केन्द्रिय उपाध्यक्ष केशर खवासले संयुक्तरुपमा सम्मान गरेका थिए ।

शनिबार पथरीशनिश्चरे–१० स्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले नगर क्षेत्रभित्रका विभिन्न जातजातिलाई जस्तै भुजेल समुदायको उत्थान र समुदाय विकासको लागि नगरको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै भुजेल समाज सेवाका वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेलले बोल्ने क्रममा राज्यले आदिवासी भुजेल जातीलाई उपेक्षा गरेको र राज्यका कुनै पनि अवसर सम्मान पुर्वक नदिएको आरोप लगाए । उनले जनणगनाका वेला पनि भुजेल समुदायलाई विभाजित गरेको बताए ।

भुजेल समाज सेवा सम्वनय समिति मोरङको आयोजनामा चेलीबेटी भेटघाट तथा भुजेल महिला समाज सेवा समिति र भुजेल युवा समाज सेवा समितिको जिल्ला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले भुजेल समाज सेवा समिति युवा र महिलाको जिल्ला कार्यसमिति चयन गरेको थियो ।कार्यक्रममा तीज विशेष गीतमा नृत्य गरी कार्यक्रममा मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा उपस्थित प्रतिनिधि र अतिथिहरुलाई खिर खुवाएका थिए ।

२०७८ को जनगणना अनुसार नेपालमा भुजेल जातिको जनसंख्या १ लाख २० हजार ४ सय ६१ रहेको भुजेल समाज सेवा समितिले जनाएको छ । जिल्ला अधिवेशन कार्यक्रममा उर्लावारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दर हरैंचा, विराटनगर, लेटाङ्ग र केराबारीबाट प्रतिनिधिहरु सहभागि भएका भुजेल समाज सेवा सम्वनय समिति जिल्ला सचिव युवराज भुजेलले बताए ।

कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख देवीमाया काफ्लेले निर्वाचित दुवै समितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् । विशिष्ट अतिथिहरु भुजेल समाज सेवा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, केन्द्रिय उपाध्यक्ष केशर खवास, केन्द्रिय सहकोषाध्यक्ष तिर्थ भुजेल, केन्द्रिय सदस्य भुपाल खवास, वडा नं. १ का वडा अध्यक्ष भिम राई लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

 

सम्बन्धित खवर