असार १३, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताए । उनले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिए । “सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ ।
अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उनले भने, “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दुःख पाउने गरेको उनको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गरे । मेयर कोइरालाले भने, “रेमिट्यान्स त हरेक दिन भित्रिरहेको छ । यसले वैदेशिक मुद्रा संचितिमा योगदान पनि पुगेको छ । तर रेमिट्यान्सको सही सदुपयोग पनि भएको छ । वस्तु आयातमै रेमिट्यान्स खर्च गरिरहेका छौं । हामीले उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा रेमिट्यान्स लगाउन सकेका छैनौं ।”
अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताए । मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले वैदेशिक रोजगारीमा ठगिएकालई कारबाही गर्ने प्रहरीको क्षेत्राधिकारका बारेमा प्रकाश पारेका थिए ।