सोमवार, भदौ ३०, २०८२

वन नियमावली जलाउँदै सामुदायिक वन उपभोक्ता महासंघ

साउन २८ गते, कानेपोखरी । सामुदायिक वन उपभोक्ता महासंघले सरकारले जारी गरेको सामुदायिक वन नियमावली २०७९ उपभोक्ताहरुको हित विपरित रहेको भन्दै वन नियमावली जलाएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको आयोजनामा विरोध कार्यक्रमसहित नियमावलीको बुँदाहरु शुक्रबार सव डिभिजन वन कार्यालय कानेपोखरी गेटमा वन नियमावली जलाएको हो ।

सरकारले भर्खरै जारी गरेको नयाँ नियमावलीले उपभोक्ता बाहिर काठ बिक्री गर्दा बिक्री गर्न तयार पारिएको मध्ये ५० प्रतिशत जिल्लाको आपुर्ति समितिलाई दिनुपर्ने, बाहिर बिक्री पनि नेपाल वन निगमलाई नै बिक्री गर्नुपर्ने, पहिला प्रतिबन्ध रहेको वन क्षेत्र भित्र रहेको खोलाबाट ढुङ्गा, गिटी र वालुवा बिक्री खुलाइएको, जडिबुटीको छुट्टै समिति निर्माण गर्नुपर्ने, संघीयताको मर्म बिपरित अघिकार संघमा केन्द्रिकृत गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले सो बुँदाहरु खारेजीको माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ ।
विरोध सभामा सामुदायिक वन उपभोक्ता महासंघको १ नं. प्रदेश समिति सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतले बोलेका थिए । कानेपोखरीको ग्रामिण सुधार, जनजागृति सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको अध्यक्ष कृष्ण थामि लगायतको नेतृत्वमाभएको कार्यक्रममा जन विरोधी बुँदाहरु खारेजी नगरे कडा आन्दोलन ल्याइने बक्ताहरुले बताएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश महासचिव अग्नि पौडेलले महिलाको पहुँचमा वन नियमावली नभएको र वन क्षेत्रमा लामो समयदेखि समुदाय स्तरमा सहयोग पु¥याउँदै आएको सामुदायिक वन उपभोक्तालाई मारमा पर्नेगरी नियमावली ल्याएको बताए । सामुदायिक वन भित्रका विभिन्न जडिबुटीहरु उपभोक्ताले संरक्षण वा उपभोग गर्न नपाउने, ५० प्रतिशत काठ आपूर्ति समितिले बाह्य बिक्री गर्ने लगाएत रहेकोेले यो खारेजी हुनुपर्ने, नभए सम्म आन्दोलन गरिरहने पौडेलले बताए ।

जिल्ला अध्यक्ष रामकृष्ण राईले जिल्ला आपुर्ति समितिमा भ्रष्टहरुको संगठन भएको आरोप लगाए । राईले हालसम्म आपुर्ति समितिले वितरण गरेको काठको विवरण कोहीसँग नभएको दावि गर्दै आपुर्तिको नाममा छुट्टिने काठको पहुँचवालाहरुकोमा पुग्ने गरेको बताए । मोरङमा रहेका चार वटा साझेदारी वनले समेत पारदर्शी रुपमा काठ वितरण नगरेको भन्दै सामुदायिक वन उपभोक्ता विरुद्धको बुँदा खारेजी हुनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेर सामुदायिक वनलाई दुःख दिने गरेको अध्यक्ष राईले बताए ।

समुदायिक वन उपभोक्ता महासंघले साउन २० गते मोरङको सुन्दर हरैचाको बिराटचोकमा सभा, २५ गते केराबारीमा सामुदायिक वन उपभोक्ता महासंघ दिवसपछि बिभिन्न पालिकाहरुको विरोध कार्यक्रम जारी राख्ने निर्णय भएको महासंघका प्रदेश महासचिव अग्नि पौडेलले बताए । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको अध्यक्ष कृष्ण थामीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश मादेनको संञ्चालन रहेको थियो ।

 

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2025 Nigranitimes.