पथरी शनिश्चरे, १८ मंसिर..
मोरङको पथरी शनिश्चरे नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज दोस्रो कार्यक्रमका रुपमा शनिश्चरेमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सदस्य यशोदा अधिकारीले लैङ्गिक हिंसा अन्त्य गर्न नारी र पुरुषको समान सहकार्य आवश्यक रहेको वताइन् । साथै उनले हिंसामा बढी मात्रामा महिला पिडीत भएकाले महिला अधिकारका लागि तिन तहका सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा प्रस्तुत भएका बालबालिकाका कविता र गीतले सानै उमेरदेखि चेतनाको गतिलो प्रवाह भएको भन्दै खुसी व्यक्त गरिन् ।
कार्यक्रममा, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मिराज अधिकारी, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, महिला अगुवा चन्द्रकला चेम्जोङ सहितले लैङ्गिक हिंसा विरुद्ध सवै जुट्न आग्रह गरेका छन् ।
सो अवसरमा भएको वडा नम्वर ४, ८ र ९ नम्वरका विद्यालयस्तरीय कविता प्रतियोगितामा वडा नम्वर ९ को मेरिगोल्ड मेमोरियल स्कुलकी एलिशा नेम्वाङले पहिलो, मेरिगोल्डकै उत्सुक खरेलले दोस्रो, सिंहबाहिनी माविकी लक्ष्मी राईले तेस्रो र ग्रेट ग्रेस स्कृुलकी अमीक्षा बरालले सान्त्वना स्थान प्राप्त गरे ।
विद्यार्थीबीचकै म्यूजिकल चियर्समा मेरिगोल्डकी कुन्ता भण्डारी पहिलो, सिंहवाहिनीकी दुर्गा खत्री दोस्रो र सिंहवाहिनीकै दिलकुमारी खत्री तेस्रो भइन् ।
हण्डीफोरमा भनें ग्रेट ग्रेस इंगलिस स्कुलका क्षितिज रम्तेल विजयी वने ।
सो अवसरमा, श्रीजंगा आधारभूत विद्यालयका आकृति राउतको समूहलाई गायनमा र सीता आदर्श आधारभूत विद्यालयका बालबालिकालाई नृत्यमा सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
निर्मला गदाल संयोजक रहेको सोही कार्यक्रममा लायन्स क्लब अफ पथरी शनिश्चरेको डीजी सर्भिस सप्ताह अन्तर्गतको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ ।
नगरपालिकाले अव मंसिर २४ गते पथरी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको यसैखाले चेतनामुलक कार्यक्रम गरी यो अभियान सम्पन्न गर्ने भएको छ । पहिलो कार्यक्रम हसन्दहमा गरिएको थियो ।