पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले अस्पतालमा आवश्यक पर्ने सामग्री प्रदान गरेको छ ।
यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गरेको हो । अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड कम्प्युटर, ४ थान कुर्सी, २ थान टेवल तथा मानसिक समस्याको जानकारी सम्वन्धी पुस्तक समेत वितरण भएको हो ।
सो अवसरमा बोल्दै अस्पताल अध्यक्ष गुरागाईंले अस्पतालका लागि यूएनएचसीआरले गर्दै आएको यसखाले सहयोग प्रसंशनीय रहेको वताउँदै सहकार्यको निरन्तरताका लागि समेत अनुरोध गरे ।
यूएनएचसीआरले नगर अस्पतालमा साइक्राट्रिक डाक्टरको व्यवस्थापन गरी अवको जनवरी १ देखि मासिक रुपमा निःशुल्क मानसिक पराशर्म सेवा सुरु गर्ने जानकारी समेत दिइएको छ । जसमा संस्थाले स्वास्थ्य विमाले समेट्न नसकेका मनोसामाजिक समस्याका ११ प्रकारका औषधि समेत निःशुल्क वितरण गर्ने छ ।
यूएनएचसीआरको सहयोगमा नगरका १५ जनालाई ग्रामिणस्तरको कार्यकर्ताका रुपमा काम गर्न तथा अन्य १६ जना स्वास्थ्य क्षेत्रमा कार्यरतलाई मनोसामाजिक विमर्श सम्वन्धी तालिम समेत प्रदान भएको थियो ।