बैशाख २० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका भित्रको मल बिक्री पसलमा मल खरिद गर्ने किसानहरु सयौंको भिड हुन थालेपछि गाउँपालिकाले मल बिक्री पसल विहान देखि बेलुकै सम्म खुल्ला गर्ने अनुमती दिएको छ ।
कोरोना भाइरसको संक्रमणको कारण लकडाउनको बेला भिडभाडमा हुन नदिन किसानलाई युरिया र डिएपी मल खरिद गर्न गाउँपालिकाले शुक्रबार देखी खुल्ला गरेको हो । गाउँपालिकाको विहिबार बसेको बैठकले यस्तो निर्णय गरेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन ।
त्यसैगरी कानेपोखरी गाउँपालिकाले शुक्रबार मल बिक्री पसलका व्यापारीहरुलाई गाउँपालिका बोएर सामाजिक दुरी कायम गर्दै बेच्ने, विक्री मुल्र्य सम्बन्धि छलफल गरेको थियो । खुद्रा बेच्दा १८ रुपैया केजी र बोरा बेच्दा ८सय रुपैया लिनुपर्ने निर्णय भएको उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक इङ्नामले बताईन । यस अघि ८ सय रुपैया बोरा र खुद्रा बेच्दा २० रुपैया प्रतिकेजी लिने गरेको थियो ।
यस अघि पालिकाले किसानलाई मल खरिद गर्ने समय दिउँसो १ बजे देखी ४ बजे सम्म निर्धारण गरेको थियो । प्रशासनले कोरोनाको संक्रमण फैलिने भएकाले मान्छेहरू भेला हुन निधेष गरे पनि किसानहरू त्यसको अवज्ञा गर्दै मल लिन तँछाड मछाड गरिरहेका थिए । उनीहरूमा कोरोनाको भन्दा पनि मल नपाउने ठूलो चिन्ता झल्किन्थ्यो ।मल बिक्री पसलमा विहान देखि नै लाइन लाग्ने गरेकोले धेरै भिडभाड देखिएपछि अन्यले त्यसको विरोध गर्दै आएको थियो ।
अहिले गाउँमा हुर्किर्दै गरेको मकै र बर्खे धानमा युरिया मल लगाउने चटारो छ । धान रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । नेपाल मलमा पूर्णतः परनिर्भर छ । भारतबाट सरकारले आयात गर्छ । चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।