मृतक सविना थापा (दर्जी)
भदौ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–५ की एक गर्भवती महिला अस्पताल घुमाउँदा घुमाउँदै उपचार नपाएपछि ज्यान गएको छ ।
लडेर घाइते भएकी वडा नं. ५, स्थित छकमक टोलकी २३ बर्षीय सविना थापा (दर्जी)को उपचार नपाएकै कारण ज्यान गएको हो । विभिन्न अस्पताल पु¥याउँदा पनि सात महिनाकी गर्भवती रहेकी उनले उपचार नै पाउन सकिनन् । उनी मंगलबार राति १० बजेतिर शौचालयमा चिप्लेर लडेकी थिइन् ।
तत्काल अवस्था सामान्य रहे पनि भोलिपल्ट स्वास्थ्य गम्भीर बन्दै गएपछि परिवारका सदस्यले उनलाई बुधबार राति उपचारका लागि विराटनगर लगेका थिए । परिवारका सदस्यले नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पताल पु¥याए ।
एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पु¥याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । ‘धेरै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाए,’ उनले भनिन्, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिए ।’
कोरोनाका बेला बिरामी ल्याएकोभन्दै कोशी अस्पतालका नर्सहरुले भने हप्कीदप्की गरेको उनको गुनासो छ । विराटनगरका अस्पतालहरुमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान लगभग २ः३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिइन् । उनका अनुसार भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर ग¥यो । तर प्रसूति कक्षमा पु¥याएर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृत्यु भएको जानकारी उनले दिइन् ।
सविनाका बुवा चन्द्र थापाले उपचार पाउने आशामा अस्पताल घुमाउँदा घुमाउँदै छोरीले मृत्युवरण गर्नु परेको बताए । अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अकालमा ज्यान गुमाउनु परेको उनको गुनासो छ । सविनाका श्रीमान भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले अस्वीकार गर्दा सात महिनाकी गर्भवती श्रीमती गुमाउनु परेको गुनासो गरे ।
लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही भएको उनको गुनासो छ । भरतले श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी लँडाइमा जाने तयारीमा आफू रहेको पनि सुनाए ।
नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभएकाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नभएको बताए । ‘आईसीयूका कारण बिरामीलाई भर्ना लिन सकिएको छैन,’ उनले भने, ‘अर्कातिर कोरोना त्रासका कारण नयाँ बिरामीको उपचार गर्न डाक्टर पनि डराउँछन् ।’
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार मात्रै सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारबाही अघि बढाउने चेतावनी दिएका थिए । तर त्यसकै पर्सिपल्ट विभिन्न अस्पताल घुमाउँदा घुमाउँदै उपचार नपाएर घाइते अवस्थाकी गर्भवतीको ज्यान गएको हो ।
लडेका कारण मृत्यु भएकाले सविनाको शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । ‘कानुनी प्रक्रिया पूरा गरेर घटनाको अनुसन्धान थाल्दै शव पोस्टमार्टमका लागि लगिएको छ,’ उनले भने, ‘त्यसको रिपोर्ट आइसकेपछि मृत्युको कारण खुल्छ ।’ लडेर गर्भमा असर पुगेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
पाँच वर्षअघि अन्र्तजातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान चार वर्षकी छोरी छन् । सविनाको माइती झापाको सुरुँगा हो ।