कानेपोखरी गाउँपालिकाद्धारा सडक आश्रित १० मानवहरुको उद्धार

पुस १२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडक आश्रित मानवहरुको उद्धार सुरु गरेको छ ।

शनिबार गाउँपालिकाको २, ३, ४, ६ र ७ नम्बर वडाबाट १० जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडक आश्रित मानवहरुको उद्धार गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नाम, स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी, वडाअध्यक्ष, वडासदस्यहरु सहित उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा पु¥याएको थियो ।
वडा नं. ४ को वडाकार्यालयको हाता भित्र बस्दै आएका ७० बर्षिय दानबहादुर लामिछाने गुरुङको पनि उद्धार भएको छ । उनिसँगै घर भएपनि एक्लै बस्दै आएका, घरबाहिर जताततै बस्दै आउँने जस्ताहरुको उद्धार भएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

उनिहरुलाई शनिबार नै मानव सेवा आश्रम विराटनगरमा गाउँपालिकाले जिम्मा दिएको छ । मानव सेवा आश्रमलाई कानेपोखरी गाउँपालिकाले ३० हजार पनि सहयोगस्वरुप प्रदान गरेको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।

अन्य छुटेकालाई यो १ महिने अभियानमा उद्धार गरी मानवसेवा अश्रममा पु¥याइने कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले जनाए ।मानवसेवा आश्रमले कोही पनि व्यक्ति सहयोगापेक्षी अवस्थामा बेसहारा भएर, असक्त, असहाय भएर सडकपेटी एवं सार्वजनिक स्थलमा रहन नपर्ने अवस्थाको निर्माण गर्नका लागि १ महिने मेची–महाकाली यात्राको सुरुवात गरेको छ ।

मेची–महाकाली यात्राको पहिलो दिन झापा जिल्लाको कन्काई नगरपालिका– ३, सुरुङ्गामा बाट सुरु गरेको थियो । सहयोगापेक्षी अवस्थामा रहेका झापा जिल्लाका विभिन्न उमेरसमुहका ७५ जना सडकमानवहरुसँग सहभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्पूर्ण पालिकालाई बास्तविक सहयोगापेक्षी सडकमानवको उद्धार, उपचारको सेवामा मानवसेवा आश्रम सदैव तयार रहेको र माग्नेलाई पेशा बनाउने, जाँड रक्सी खाएर बेवारिसे बनेका व्यक्तिलाई अन्यत्र ब्यबस्थापन गर्न सके वास्तविक सहयोगापेक्षीले सेवा प्राप्त गर्न सहज हुने धारणा बताएका छन् ।

सम्बन्धित खवर