असार १४गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ नम्बर वडाले युवाहरुलाई लक्षित गरी दुई दिने लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
वडाको सहयोग, इलाका प्रहरीकार्यालय पथरीको सहकार्य र कानेपोखरी मिडिया प्रालिको आयोजनामा शनिबार र आइतबार कार्यक्रम गरी सम्पन्न गरेको हो । वडाको तीन स्थानमा कार्यक्रम भएको थियो । पहिलो कार्यक्रम पञ्चायत माविको सभाहलमा वडासदस्य अरुणा राईको सभापतीत्वमा भएको थियो भने दोस्रो कार्यक्रम स्वामी निर्विशेषानन्द आध्यामित्क प्रतिष्ठानमा वडा सदस्य अग्नि प्रसाद गुरुङको सभापतीत्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी आइतबारको तेस्रो कार्यक्रम चौतारी सामुदायिक वनको सभाहलमा वडासदस्य पर्शुराम न्यौपानेको सभापतीत्वमा भएको थियो । स्वास्थ्य मादण्ड अपनाई २० जनाको दरले तीन स्थानको कार्यक्रममा वडाको ६० जना युवाहरु सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष याम गुरागाई रहेका थिए । उनले मन्तव्य दिने क्रममा नगरको धेरै जसो युवा वर्गहरु लागु औषध दुव्र्यसनीमा फसेकोले त्यसको न्यूनिकरण गर्न युवाहरुको ठुलो भूमिका हुने बताए । वडा मात्र नभएर नगर नै लागु औषध दुव्र्यसनी मुक्त क्षेत्र बनाउन सम्पुर्ण अभिभावक, युवा, समाजका अगुवा व्यक्तित्व र जनप्रतिनिधि लाग्नु पर्ने बताए ।
कार्यक्रमलाई इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्का, सई हिक्मत श्रेष्ठ, पथरीका न्यू स्टेप सुधार गृहका कमल कुमार सुनुवार र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्नेली राईले सहजिकरण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, पत्रकार राजकुमारी तामाङलगाएत उपस्थित रहेका थिए ।