कानेपोखरी–पथरी क्षेत्रको वनजंगलमा वन्यजन्तु चोरी शिकारी बढ्दै

भदौ १ गते, पथरी । लकडाउनको मौका छोपी मोरङ पूर्वी राजमार्गको उत्तर–दक्षिण वन जंगलमा वन्यजन्तु चोरी शिकारी बढ्दै गएको छ । वन्यजन्तु सिकारीले जनावर आफ्नो हातमा पार्न नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् ।

सिकारीले यस अघि भरुवा बन्दुकले बदेंल, हरिणहरुको सिकार गर्ने गरेका थिए भने अहिले पासो थापेर वन्यजन्तुको चोरी शिकारी गर्न थालेका छन् । एक हप्ता अघि पथरीशनिश्चरे –२ स्थित हरियाली सामुदायिक वनबाट वन हेरालुहरुले मृगलाई थापेको करिव तीन सय पासो थापिरहेको अवस्थामा फेला पारेका थिए ।

यसैक्रममा सोमबार सोही वनबाट पासो थापेर एउटा चित्तल मारेको अवस्थामा दुईजना युवालाई वन कर्मचारी र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ का २६ बर्षिय चित्रबहादुर श्रेष्ठ र भोजपुर बलगाउँ–५ घरभइ पथरी बस्दै आएका २१ बर्षिय विश्वबन्धु भनेर चिनिने विकाश राई रहेका छन । जस मध्ये विकाश राई केही समय अघि पनि यस्तै मुद्दामा परेर तारिक धाउदै आएको व्यक्ति भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।

हरियाली सामुदायिक वन भित्र स्टीलको तार (मोटराइलको ब्रेकको तार) प्रयोग गरी पासो थापेर करिव ६० किलोको चित्तल मारेर लाने क्रममा चित्तलसहित उनिहरुलाई पक्राउ गरेको सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए ।

पक्राउ परेका दुवै जनालाई वन ऐन अनुसार कडा कारबाही गर्ने डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए । पथरीबाट यस अघि पनि पटक पटक चोरी शिकारी भएको मृग, मानिससहित मासु र मोटरसाइकल पक्राउ पर्दै आएको छ ।

सोमबार विहान करिव ८ बजे हरियाली वन हेरालुहरुले जंगलभित्र पासोमा परेको चित्तल फेला पारे । त्यसपछि उनीहरुले समूहका अध्यक्ष काबुलबहादुर मगर मार्फत वन रक्षक र प्रहरीलाई जानकारी गरेका थिए । प्रहरी, वन रक्षक र समूहका पदाधिकारीहरुको टोलीले चित्तल भएको जंगल क्षेत्रमा घेरा हालेर शिकारी पक्राउ परेको शसस्त्र वन रक्षक जमदार टंक बिकले बताए । उनीहरुसँग झोलामा एउटा दाउ, छुरी र ४० वटा पासो मसेत पक्राउ परेको छ ।शिकारीहरुले भरुवा बन्दुकले गोली हानेर मृग, बँदेल लगायतको शिकार गर्दै आएका थिए । बन्दुकको आवाज टाढासम्म पुग्ने र पक्राउ पर्ने खतरा बढेपछि पछिल्लो समय पासो थापेर जंगली जनावरको शिकार गर्न थालेको हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विकास मगरले बताए । बेलुका पासो थाप्ने र विहान परे नपरेको हेर्न आउने गरेको बुझिएको छ ।

सम्बन्धित खवर