बच्चा डाइनासोरको असाधारण अवशेष अण्डाभित्र घुम्रिएर बसेको विषयले डाइनासोर र चराबीचको सम्बन्धलाई अझै बलियो बनाएको छ ।
७ करोड वर्ष पुरानो अवशेषमा विकास भएको कंकाल ओभिराप्टोरिड प्रजातिको डाइनासोरको रहेको सीएनएनले जनाएको छ । यसको उपनाम बेबी इङलियाङ राखिएको छ । यो नाम अवशेष सुरक्षित राख्ने चिनियाँ सङ्ग्रहालयको नामबाट राखिएको हो । बेबी डाइनोसोरको हड्डी स–साना र धरमराउँदो अवस्थामा छन् । यसलाई दुर्लभ रुपमा मात्रै सुरक्षित राख्ने गरिएको छ । यसलाई अत्यन्त भाग्यपूर्ण उपलब्धी मानिएको क्यानडास्थित युनिभर्सिटी अफ कालगेरीका एसोसियट प्रोफेसर डारला जेलेनिट्स्कीले बताएकी छन् ।
‘यो अत्यन्त विशिष्टतम विषय हो । म डाइनासोरको अण्डाको विषयमा २५ वर्षदेखि काम गर्दै आएको छु र यो जस्तै अन्य पनि फेला पर्न अझै बाँकी नै छ,”जेलेनिट्स्कीले बताइन् । उनी जर्नल आईसाइन्सका सह–लेखक पनि हुन् ।
‘हालसम्मको अवधिमा डाइनोसोरसको अण्डाबाट चल्ला निक्लनुुपूर्व के भइरहेको थियो भन्ने विषयमा थोरै मात्र जानकारीमा आएको छ । किनकी हालसम्म थोरै मात्र कंकाल फेला परेका छन्,’ उनले ईमेलबाट जानकारी गराइन् ।
यो अण्डा १७ सेन्टिमिटरको हाराहारीमा लामो रहेको छ र टाउकोदेखि पुच्छर सम्म डाइनासोर अनुमानित २७ सेन्टिमिटरको छ । वयस्कको अवस्थासम्म बाँचेको भए यो २ देखि ३ मिटरसम्म लामो हुने अन्वेषकहरुले अनुमान गरेका छन् ।एजेन्सी