एमाले मोरङ जिल्ला अधिवेशन : २५ भन्दा बढी पुराना विदा हुँदै, नयाँ को को आउँदै ?

पुस २१ गते, विराटनगर । पुस २३ गते शुक्रबार देखी २४ गते शनिबार सम्म हुने नेकपा एमाले मोरङ जिल्ला अधिवेशनले अहिलेको सचिवालयमा रहेका ८० प्रतिशत भन्दा बढी पुराना अनुहारलाई विदाई गर्ने भएको छ ।

अहिलेको सचिवालयमा रहेको अधिकाँस व्यक्तिहरु माथिल्लो कमिटीमा गइसकेको र नगएकाहरु पनि विदा लिने मनस्थितिमा रहेकाले उनीहरुलाई विदाइ गरिने एमाले नेतृत्वले जनाएको छ ।

यसरी बिदा हुनेहरुमा पुराना व्यक्तिहरु महेश भट्टराई, भूपाल जिमी, अर्जुन अधिकारी, धर्मानन्द सञ्जेल, ज्ञानेन्द्र सुवेदी, किशोर राई, मोहन तुम्बोपो लगायतका झण्डै २५ जना भन्दा बढी व्यक्तिहरु रहने छन् ।

राजकुमारी इङ्नाम, लक्ष्मी भण्डारी, रामलाल साह र धना तामाङले केन्द्र र प्रदेशका कमिटीमा जिम्मेवारी पाइसकेकाले यस अघि नै विदाई गरि सकिएको छ । यस पटक विदा हुने अधिकाँस व्यक्तिहरु झण्डै दुई दशक देखि जिल्ला कमिटीमा रहेर काम गर्दै आएका थिए । झण्डै आठ वर्ष पछि जिल्ला सम्मेलन हुन गइरहेकाले पनि धेरै पुराना अनुहारहरु यस पटक विदा हुने सम्भावाना देखिएको हो ।

नयाँ को को आउँदै छन् ?
यसरी पुरानालाई विदाईसँगै त्यत्तिनै सङख्यामा नयाँ अनुहारका युवाहरुलाई जिल्ला कमिटीमा ल्याउने तयारी भइरहेको छ । पार्टीको तल्लो तह र यूवा तथा विद्यार्थी फाँटमा काम गरि सकेका नयाँ अनुहारका व्यक्तिलाई जिल्ला कमिटीको नेतृत्वमा ल्याइने बताइको छ । जसमा युवा सङ्घका केन्द्रीय नेतृत्वमा रहेर काम गरिसकेका मुकेश बुढाथोकी, नरेन्द्र बस्नेत, टेक बहादुर भट्टराई, हेमेश्वर राई, यामुना विष्ट बास्तोला, इन्द्र ढकाल जस्ता नयाँ अनुहारहरु जिल्ला नेतृत्वमा आउने भएका छन् ।

नेतृत्व पुरानै
यस पटकको अधिवेशनले जिल्ला नेतृत्वमा भने खासै फेरबदल गर्ने अवस्था देखिएको छैन । हालका अध्यक्ष ऋषिकेस पोखरेल अहिलेसम्म अधिवेशनबाट अध्यक्ष बन्ने मौका नपाएकाले अध्यक्षमा पोखरेलले नै दोहो¥याउने निश्चित छ भने उपाध्यक्षमा हालका उपाध्यक्ष बाबुराम कार्की र सचिवमा पनि रुपेश खतिवडानै दोहोरिने निश्चित जस्तै भएको छ ।

सामन्यतय उपाध्यक्षमा जनजाति वा मधेशी समुदायको ल्याउने अभ्यास हुँदै आएको भएपनि यस पटक कार्कीले दाबी गरेपछि नतृत्वल समेत उनको कुरा काट्न नसक्ने अवस्थामा रहेको छ ।

त्यसैले यस पटक जनजाति, मधेशी र महिलाको नेतृत्व उप सचिवबाट नै खोज्नु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । दुई पद रहेको उपसचिवमा सकेसम्म मधेशी अनुहारबाट शन्तोष साह र महिला तथा जनजाती अनुहारबाट केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बुलाई ल्याउने तयारी नेतृत्व तहले गरेको छ । लिम्बुलाई ल्याउँदा महिला र जनजातिसँगै पुरानो माधव नेपाल समुहको समेत प्रतिनिधित्व हुने भएकाले पनि एक जना उपसचिवमा उनको पल्ला भारी रहेको बताइन्छ ।

त्यसो त सचिव पदमा पनि रविन थापाले दाबी गर्दै आएका छन् । बर्तमान सचिव रुपेश खतिवडाले पहिले गुट परिवर्तन गरेको भन्दै थापाले सचिवमा दाबी गर्दै आएका छन् । माथिल्लो तहको नेतृत्व थापाको कुरामा सहमत देखिदैन । सचिवालयमा रहेर कामको अनुभव समेत प्राप्त गरिसकेका खतिवडा प्रति नेतृत्व तह बढी विश्वस्त रहेकाले पनि थापाको जिद्दीले खासै काम गर्ने अवस्था छैन ।

यस अघिका वडा र स्थानीय तहका सबै सम्मेलन सर्वसम्मतरुपमा सम्पन्न गर्दै आएको एमाले मोरङको जिल्ला नेतृत्व पनि सर्वसम्मत हुने देखिन्छ । त्यसका लागि जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य विनोद ढकालले विभिन्न पक्षहरुसँग छलफल गरिरहेको छ ।

सम्बन्धित खवर