असार १३ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको प्रत्येक वडामा माध्यामिक स्कुलको व्यवस्थापन गरिने भएको छ ।
भखरै सम्पन्न नीति तथा कार्यक्रममा गाउँसभाले सामुदायिक विद्यालय गुणस्तरमा अभिवृद्धि गर्न ‘एक वडा, एक मावि’ को अवधारणा पास गरेको हो । यो सँगै प्रत्येक वडाको एउटा मावि स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने भएको छ ।
अहिले वडा नं. १ मा श्री मावि होक्लाबारी, वडा नंं. २ मा शिक्षा विकास मावि, वडा नं. ३ मा शिक्षा सदन मावि र बाल मावि, वडा नं. ५ मा सिंहदेवी मावि र श्रीमावि भौसावारी, वडा नं. ६ मा जनसेवा मावि र वडा नं. ७ मा जनकल्याण मावि गरी जम्मा ८ वटा मावि संचालनमा छन् । वडा नं. ४ मा मावि स्कुल छैन ।
वडा नं. १ मा २ वटा आधारभूत स्कुल, २ मा ३ वटा आधारभूत, वडा नं. ३ मा १ वटा आधारभूत, वडा नं. ४ मा ३ वटा आधारभूत विद्यालय, वडा नं. ५ मा १ वटा आधारभूत, वडा नं. ६ मा ३ वडा आधारभूत रहेका छन् । गाउँपालिकामा सामुदायिक विद्यालय जम्मा २३ वटा रहेका छन् ।
पालिका भित्रको सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्वच्छ तथा शुद्ध पिउने पानीको लागि आधुनिक फिल्टर जडान समेत गरिने भएको छ ।