पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले दादुरा–बेला र पोलियो खोप अभियान नगरमा संचालन गर्नको लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
पथरीशनिश्चरे नगरमा फागुन ६ गते देखि १४ गते सम्म नगरको सवै वडामा खोप अभियान सम्पन्न गरिने भएको हो । १० वटै वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाको प्रतिनिधि लगाएत कार्यक्रममा सहभागी भएका थिए । स्वास्थ शाखाका सहसंयोजक जगत मगरले खोप अभियानको बारेमा सहजिकरण गरेका थिए । गोष्ठीलाई नगरको स्वास्थ्य शाखाका स्वास्थकर्मीले सहजिकरण गरेका थिए ।
६ गते देखि वडाको विभिन्न खोप केन्द्रमा १ जना स्वास्थ्यकमी र २ स्वयंमसेविकाको सहायताले अभियान संचालन हुने योजना नगरले तय गरेको छ । पायक पर्ने वडाको खोप केन्द्रमा खोप लगाइ अपांगता र अकालमा मृत्य हुनबाट बच्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ । वडाको हरेक विद्यालय, चोक, स्वास्थ केन्द्र लगाएत गरी जम्मा ३८ वटा खोप केन्द्र राखिने भएको छ । अभियानमा ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई दादुरा–रुवेला खोप र जन्मदेखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो खोप लगाईने छ ।
कार्यक्रममा नगरपालिका भित्र ५ हजार ५ सय ८९ जना लक्षित समूहलाई खोप दिइने बताएका छन् । नगरमा सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने उद्देश्यले अभियान थालेको स्वास्थशाखाले बताए । वडा नं. १ मा ८१३, वडा नं.२ मा ४९५, वडा नं. ३ मा ६२४, वडा नं. ४ मा ६२५, वडा नं. ५ मा ४७६, वडा नं. ६ मा ५९४, वडा नंं ७ मा ४५१, वडा नं. ८ मा ४९८, वडा नं. ९ मा ४७६ र वडा नं. १० मा ५३७ जना दादुरा–रुवेलाको लक्ष रहेको तथ्याङ स्वास्था शाखाले प्रस्तुत गरेको छ ।
त्यसैगरी पोलियो लक्षित संख्या वडा नं. १ मा ९९४, वडा नं. २ मा ५९७, वडा नं. ३ मा ७३६, वडा नं. ४ मा ७४४, वडा नं. ५ मा ५६९, वडा नं. ६ मा ७००, वडा नंं ७ मा ४९८, वडा नं. ८ मा ५८८, वडा नं. ९ मा ५६०, र वडा नं. १० मा ६४४ जना गरी जम्मा ६६३० जना रहेको स्वास्था शाखाले तथ्याङ प्रस्तुत गरेको छ ।
मोरङ जिल्लामा पहिलो र दोस्रो चरण गरी दुई चरणको अभियान संचालन गरेको छ । रंगेली,रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी, कटहरी, जहदा, धनपालथान गाउँपालिकामा पहिलो चरणको कार्यक्रम अन्तरगत फागुन ६ गते देखि १४ गते सम्म खोप अभियान संचालन गरिने भएको हो ।
त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका, उर्लाबारी, बेलाबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका र बुढीगंगा, ग्रामथान, मिक्लाजुङ र केराबारी गाउँपालिकामा फागुन १६ गते देखि २४ गते सम्म खोप अभियान संचालन गर्ने भएको हो ।