साउन २३ गते,पथरी । मोरङको पथरीशनिश्चरेनगरका लागि कृषि तथा पशु सम्वन्धी परियोजनाका लागि छलफल भएको छ ।
सामुहिक रुपमा तरकारी खेती तथा बाख्रा, बंगुर र कुखुरा पालनको परियोजनाका लागि शरणार्थी बसोबास गरेको १० नम्वर वडा अन्तर्गतको वडा कार्यालयमा शुक्रबार छलफल भएको हो ।
कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यको संयोजनको सर्वपक्षीय छलफलमा लुथरनका कार्यक्रम अधिकृत देवराज खत्री र तिलबहादुर कार्कीले शरणार्थी प्रभावित क्षेत्रका लागि कृषि र पशुपालनबाट आयआर्जनमा आधारित सहयोग पुर्याउन लागिएको बताए ।
उनीहरुले सो वडामा एउटै चक्लाबन्दीमा रहेको १२ विगाहादेखि १५ विगाहा क्षेत्रफल जग्गा लिजमा लिएर परियोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि छलफल गरिएको थियो । छलफलमा नगरको कृषि तथा पशुपंक्षी शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
नगरपालिका कार्यालयको समन्वयमा सञ्चालन गरिने परियोजनाका लागि शरणार्थी शिविर भित्र र शरणार्थी प्रभावित क्षेत्रका लागि समूह गठन गरी कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।