साउन २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कोरोना भाइरस भए नभएको परीक्षण गर्न आइतबार जनप्रतिनिधि र पत्रकारसहित ९५ जनाको थ्रोट स्वाब संकलन भएको छ ।
संघीय संसदीय समितीले बैज्ञानिक वन सम्बन्धि अनुगमनको लागि साउन १७ गते पथरीशनिश्चरे स्थित हरियाली सामुदायिक वनको कार्यालयमा आएर कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन आएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिए पछि आफ्नो रिपोर्ट पोजेटिभ आएपछि प्रमुख घिमिरेले आफ्नो फेसबुक सन्जाल मार्फत सम्पर्कमा रहेका ब्यक्तिहरुलाई सचेत रहन सूचना जारी गरेका थिए ।
प्रमुख घोमिरेको स्टाटस आएपछि पथरीमा एक प्रकारको आतंक भएको थियो । सामाजिक सन्जाल प्रयोग गरि घिमिरेलाई कोरोना हुनु त्यो कार्यक्रममा सहभागी सबैलाई भाइरस भएको जस्तो प्रचार भएको थियो । सोही कारण पथरीमा नगरपालिकाको पहलमा तत्काल पीसीआर परीक्षण भएको हो ।
वनको कार्यक्रममा सहभागी भएका नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, पत्रकार अर्जुन जम्नेली राई, दिनेश सुब्बा, सन्तोष राई, मोहन भट्टराई, कुमार खड्का, भूमीप्रसाद पाठक र ईस्वर दुलालको पथरी नगर अस्पतालका स्वास्थ्य कर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ । त्यस संगै आजै नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतको पनि स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।
त्यसैगरी सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन, सब डिभिजन वन कार्यालय उर्लाबारीका प्रमुख तारिणी चौधरी, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर लगायतका पदाधिकारी सदस्यहरु, पन्चायत माबिका प्रधानाध्यापक अर्जुन बुढाथोकी, समाजसेबी युवराज बास्कोटा, तुलशी ढकाल लगायत ७५ जनाको स्वाब संकलन भएको हो । आइतबारै पथरी बहुमुखी क्याम्पसमा स्थित क्वारेन्टिनमा बसेकाहरु मध्ये २० जनाको पनि स्वाब संकलन भएको छ । संकलित स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा ल्याब परीक्षण हुन्छ ।
भाइरस नियन्त्रण गर्न पथरीशनिश्चरे नगरमा साउन २३ गते देखि दोस्रो पटक लकडाउन सुरु भएको छ । नगरमा हालसम्म ५ जनामा कोरोना पोजेटिभ देखिएपनि सवैजना स्वास्थ्य भएर घर फर्किएका छन् ।