भदौ १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा एकै दिन ७ जना कोरोना पोजेटिभ देखिए सँगै एकजना मृत्यु भएका मानिसलाई कोरोना संक्रमण देखिए पनि वडा नं. १ र २ का केही ठाउँ आजबाट सिल गरिएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । वडा नम्वर १ को सुन्दरबस्तीलाई पुरै सिल गरिएको छ । अर्का संक्रमित देखिएको हनुमानचोक र अन्नपूर्ण चोक दक्षिणका अर्का संक्रमितको घरपरिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध लगाईएको छ ।
यसैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिने भएको नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए । उनले मृत्यु भएको एकजनामा समेत कोरोना देखिइ संक्रमितको संख्या बढेपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरे । यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।
सैलुन, जिमहल, व्यूटिपार्लर, होटल सहित सरकारले प्रतिवन्धित गरेका पेशा व्यवसायहरु सञ्चालन नगर्न र घरमै बसेर कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन अनुरोध छ ।
विहान ६ बजेदेखि विहान १० बजेसम्म खुल्ने सब्जी, फलफुल, दुधजन्य पसलहरुमा भिडभाड नगरी कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरी मास्क र ग्लोब लगाएर साबुनपानी वा सेनिटाइजरले हात सफा गरेर मात्र कारोबार गर्न थप सचेत गराइएको छ ।
समुदायस्तरका ३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’को क्रम सुरु भएको छ । समुदायस्तरका तिनै जना वडा नम्वर १ का हुन् भनें क्वारेन्टिनमा रहनेमा १ नम्बरका २ जना, २ का १ र १० का १ जना रहेको रिपोर्टमा उल्लेख छ ।
कोरोनासँग जोडिएर मृत्यु भएको पहिलो र एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो ।
यसअघि भारतका १ गरी ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।