सुकुम्बासी दलितको उपचारमा ११ लाखको बिल : तिर्न नसक्दा अस्पतालले शव दिएन, परिवारले दाहसंस्कार गर्न पाएन

भदौ २२ गते, विराटनगर । निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एउटा सुकुम्बासी दलित परिवार आफन्तको शव दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उपचारकै क्रममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्की अछामीको शव विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा छ । ६१ वर्षकी सीता श्रीमान्को मृत्युपछि बेहोस छिन ।

अस्पताल प्रशासन र फार्मेसीले अछामीको उपचारमा ११ लाखको बिल उठाएका छन । र, बिल तिर्न नसकेपछि अस्पताल प्रशासनले शव उठाउन दिएको छैन । शव लैजान नपाएपछि परिवार आफन्तको दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उनको १९ भदौमा अस्पतालमा मृत्यु भएको थियो । बिल तिर्न नसकेपछि अस्पतालले दाहसंस्कारका लागि शव उठाउन नदिएको जेठा छोरा नवीनले बताए ।

उच्च रक्तचापले थलिएका सनमनको ५ चैतदेखि नोबेल अस्पतालमा उपचार हुँदै आएको थियो । उनलाई २५ दिन आइसियू र चार दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारबापत अस्पताल प्रशासनको पाँच र औषधिको ६ लाख बिल उठेको छोरा नवीनले बताए ।

तत्काल बिल तिर्ने कुनै उपाय नभएकाले शव उठाउनका लागि परिवारले अस्पताल प्रशासनसँग हारगुहार गरेको छ । तर, अस्पताल प्रशासनले केही पुनर्विचार गरेको छैन । ‘बुबाको शव दिनुस् भनेर रोइकराइ गरिरहेको छु, तर अस्पताल प्रशासनले बिल नतिरी शव दिन मानेको छैन । बुबाको दाहसंस्कार र काजकिरिया सबै रोकियो,’ नवीनले भने, ‘बिल तिर्न एक पैसा छैन ।’

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकाले प्रशासनले निर्णय गर्न सक्ने अवस्था नभएको बताए । दाहालले भने, ‘यसबारे अध्यक्षले मात्र निर्णय दिन सक्नुहुन्छ । हाम्री केही गर्न सक्दैनौँ ।’

मृतकको जायजेथाबाट असुलउपर गर्न सकिन्छ कि भनेर अस्पताल र फार्मेसीका प्रतिनिधि महुलीस्थित उनको घरमा समेत पुगेका थिए । नवीनका अनुसार सुकुम्बासी परिवार भएकाले असुलउपर गर्न सक्ने अवस्था नभएपछि उनीहरू चुपचाप फर्किएका थिए । फर्केपछि अस्पताल प्रशासनले पैसा तिरे मात्र शव दिने भन्दै मृतकको परिवारमाथि दबाब दिइरहेको छ ।

मृतक सनमनको परिवार सुकुम्बासी बस्तीमा बस्छ, दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउँछ । मृतकका जेठा छोरा २७ वर्षीय नवीन र कान्छा छोरा २४ वर्षीय कुमार दुवै मिस्त्री काम गर्छन । आर्थिक अभावकै कारण एक बहिनीको बिहे हुन सकेको छैन । नवीनले भने, ‘उपचार गर्दा–गर्दा ऋण मात्रै तीन लाख पुग्यो । अरू हामीसँग एक पैसा छैन, जायजेथा पनि छैन । कसरी ११ लाखको बिल तिर्नु ?’

तीन दिनदेखि अस्पतालबाट बुबाको शव उठाउन नपाएका छोरा नवीन थाकिसकेका छन । उनको अस्पताल प्रशासनसँग आग्रह छ, ‘बरु परिवारका सदस्यलाई जाकडी राख्नुस्, बुबाको शव लैजान्छौँ । दाहसंस्कार र काजकिरिया सक्छाँै । काम गरेर खाने परिवारलाई धेरै दुःख नदिनुस ।’ नयाँपत्रिकाबाट

सम्बन्धित खवर