कानेपोखरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत र पुरानोलाई विदाई

भदौ २५ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत र पुरानोलाई विदाई गरिएको छ ।

कार्यालयमा बुधबारबाट हाजिर भएर जिम्मेवारी सम्हालेका नयाँ प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठलाई औपाचारीक रुपमा स्वागत गरेको हो ।

संखुवासभा पचखपन नगरपालिकाबाट सरुवा भएर कानेपोखरी गाउँपालिका आएका अधिकृत श्रेष्ठलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष खड्ग बस्नेत र मोहन प्रसाद अधिकारी लगाएत जनप्रतिनिधिहरुले स्वागत गरेका थिए । अन्य वडाध्यक्षहरुलाई स्वागत कार्यक्रममा निमन्त्रणा थिएन ।

स्वागत कार्यक्रममा लेखा अधिकृत अजित भट्टराई, सूचना अधिकारी गोविन्द फुयल, सूचना तथा प्रविधि अधिकृत अलङ्ग गुरुङ, जिन्सी शाखा अधिकृत यादव प्रसाद निरौला, प्राविधिक शाख, स्वास्थ्य शाखा, शिक्षा शाखा, योजना शाखा र पशु तथा कृर्षी लगाए शाखाका कर्मचारीहरु पनि उपस्थित थिए ।

स्वागत कार्यक्रममा सवैले आआफ्नो धाराणा राखेका थिए । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सेवा प्रवाह, सुशासन कायम गर्ने र विकास निर्माणको काममा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताएका थिए । अध्यक्ष काफ्लेले प्रमुख प्रशासकीय अधिकृतले कानुन र नियमभित्र रहेर स्थानीय सेवाग्राहीको भावना अनुसार काम गर्ने अपेक्षा लिएको बताए । अधिकृत श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट मात्र गाउँपालिकाको लक्ष्य पुरा गर्न सकिने बताएका थिए । उनले सवै पक्षबाट साथ र सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए ।

पुरानो प्रमुख प्रशासकीय अधिकृतको खल्लो विदाई
लगभग डेढबर्ष कार्यकाल विताएर प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम घिमिरे गत भदौ ११ गते गाउँपालिका अध्यक्षको कक्षबाट विदाई गरिएको थियो । विदाई कार्यक्रममा जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र वडाध्यक्ष मोहन प्रसाद अधिकारी मात्र उपस्थित भएका थिए । अन्य केही कर्मचारीहरु उपस्थित रहेका थिए । अधिकृत घिमिरेले गाउँपालिका काम गर्दा भएको विविध कारणले विदाई खल्लो नै भएको थियो ।

गाउँपालिकामा अधिकृत घिमिरे पछिल्लो समयमा विवादित बनेका थिए । कृर्षकहरुको लागि खरिद गरिने फलफुलको विरुवा र अधिकृत आफैले भाडामा लिएको स्कारपियो गाडीको समाचार विभिन्न अनलाइन पत्रिका र टिभिहरुमा निकै छाएको थियो । सोही कारणले विवादित वने पछि अधिकृत गाउँपालिकाबाट विदा हुनु परेको थियो ।

विकास निर्माण र अन्य सेवाहरुमा जनताले धेरै दुःखपाएको गुनासोहरु पनि उतिकै थियो । पछिल्लो समया कार्यपालिकामा निर्णय नै नगरी अनुगमन गर्ने भन्दै मासिक ८० हजार तिर्ने सर्तमा स्कारपियो गाडी भाडामा लिएपछि पालिका भित्र केही जनप्रतिनिधिहरुसँग झन दुरी बढेको थियो ।

उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक इङ्नामले योजनाको अन्तिम अनुगमन गरेको योजनामा एकहप्ता पछि अधिकृत घिमिरे इन्जिनियरसहितको टोलि लिएर फेरी अनुगमनमा पुग्ने र उपभोक्ताहरुलाई दुःख दिने जस्ता काम गरेका थिए ।

सम्बन्धित खवर