भदौ २६ गते, कानेपोखरी । विपक्षिले राजनीतिक स्वार्थका लागि पटक–पटक बद्नाम गराउने प्रयास गरेपनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल जनताप्रति जवाफदेही र जनउत्तरदायी छन् भन्नेकुराको प्रमाण पेश गरेका छन् ।
चुनाबका बेला जनतामाझ झुटा आश्वासन बाँड्ने प्रबृत्ति भएका जनप्रतिनिधिहरुलाई मन्त्री ढकालले आफ्नो क्षेत्रका लागि काम गरेरै चुनौती दिएका छन् । त्यति मात्र नभएर जनप्रतिनिधिरहँदा जनताकाबिचमा आफ्नो पहलकदमीमा के भयो र के भइरहेको छ भन्नेकुराको जानकारीसमेत नगराउने जनप्रतिनिधिहरुलाई त अझ मन्त्री ढकालले गतिलो ‘झापड’ हानेका छन् ।
निर्वाचनमा आफुले चुनेका जनप्रतिनिधिहरुले सहि ढंगले काम गरुन र आफ्नो क्षेत्रको विकास धेरै होस भन्ने आम जनताको अपेक्षा हुन्छ । आफुले मत दिएर चुनेका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा के गरे र चुनाव जिताएको उपलब्धी के भयो भन्ने आम जनताको चासोको विषय हो ।
यसै शन्दर्भमा मन्त्री ढकालले निर्वाचन क्षेत्रमा जनतामाझ सार्बजनिक लेखा परिक्षणका लागि आफ्नो पहलकदमीमा भएका काम र त्यसको प्रगतिकाबारेमा सार्बजनिक गरेका छन् । सम्बन्धीत दलबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी र जनताप्रति उत्तरदायी र जवाफदेही नबन्ने गुनासाहरु आउने गरेपनि मन्त्री ढकालले आफ्नो पहलकदमीमा भएका एवम् हुनबाँकी कामहरु सार्बजनिक गरी त्यस्तो प्रबृत्ति भएका जनप्रतिनिधिहरुलाई गतिलो ‘झापड’ मात्र हानेनन् जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्ने पाठ समेत सिकाएका छन् ।
उनले आफ्नो पहलकदमीमा निर्वाचन क्षेत्रमा सञ्चालीत योजना तथा कार्यक्रमहरुका बारेमा औपचारीक रुपमा सार्बजनिक गरेका हुन् । मन्त्री ढकालले आफुले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङलाई समेत औपचारीक रुपमा पत्र लेख्दै तीन वर्षमा आफ्नो पहलकदमीमा भएका र हुनबाँकी कामहरुका बारेमा जानकारी गराएका हुन् । जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही, जनउत्तरदायी बन्न जरुरी रहेको भन्दै जनताको सुचनाको हकका लागि मन्त्री ढकालले आफ्नो पहलकदमीमा आर्थिक वर्ष २०७५÷०७६ देखि आर्थिक वर्ष २०७७÷०७८ सम्म भएका र हुनबाँकी कामहरु सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाई बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री ढकालले आफ्नो पहलकदमीमा मोरङ क्षेत्र नं. ३ नं.मा भएका काम र त्यसको प्रगतिका बारेमा सार्बजनिक गरेका हुन् । उनले सो को विवरणसहितको प्रतिवेदन नेकपा मोरङलाई बुझाएका बुझाएका छन् ।
मन्त्री ढकालको पहलकदमीमा १२ अर्ब ३४ करोडको योजना
मन्त्री ढकालले आफ्नो पहलकदमीबाट निर्वाचन क्षेत्रमा तीन आर्थिक वर्षमा १२ अर्ब ३३ करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरका योजना र कार्यक्रम सञ्चालन भएको उल्लेख गरेका छन् । उनले आफ्नो पहलकदमीमा संघिय सरकारका विषयगत मन्त्रालयहरु र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सञ्चालीत योजना तथा कार्यक्रम सार्बजनिक गरेका हुन् ।
उनले आफ्नो पहलकदमीमा आर्थिक वर्ष २०७५÷०७६ मा २७ कारोड ९४ लाख ५३ हजार र आर्थिक वर्ष २०७६÷०७७ मा २ अर्ब ४७ करोड १७ लाख ८० हजार रुपैयाँका योजनाको काम भएको उल्लेख गरेका छन् । त्यसैगरी मन्त्री ढकालले आफ्नो क्षेत्रमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा ९ अर्ब ३३ करोड ९७ लाख २५ हजार रुपैयाँ बजेट बिनियोजना भएको बताएका छन् । उनले सो को जानकारी पत्र नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललाई बुझाएका छन् ।
अध्यक्ष पोखरेलले जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनुपर्ने पार्टीको नीति र निर्देशन बमोजिम पार्टीबाट निर्वाचित जनप्रतिनिधिहहरुले आफ्नो पहलकदमीमा भएका कामबारे पार्टी र जनतालाई औपचारीक रुपमा जानकारी गराइरहेको बताए । उनले मन्त्री ढकालले पनि सो को विवरण बुझाएको जानकारी दिए ।
अहिलेसम्म ५ जनाले बुझाए कार्य प्रगति विवरण
पार्टीले निर्देशन दिएको ६ महिना बढी समय भएपनि अहिलेसम्म ५ जना जनप्रतिनिधिहरुले मात्र विवरण बुझाएको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार हालसम्म मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री ढकाल, क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकुमार ओझा, रतुवामाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाइ र वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेलले आफ्नो पहल कदमीमा भएका कामहरु सार्बजनिक गरि त्यसको विवरण पार्टीलाई बुझाइसकेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले अन्य जनप्रतिनिधिहरुले पनि क्रमश संघिय, प्रदेश सरकार र स्थानीयतहबाट आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण बुझाउने क्रम जारी रहेको बताए । उनले जिल्लामा नेकपाबाट निर्र्वाचित वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, प्रदेश तथा संघिय सांसदलगायत सवै जनप्रतिनिधिहरुलाई यसरीनै यथासिघ्र सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाई बुझाई जनउत्तरदायी बन्न आग्रह गरेका छन् ।विराट टाइम्सबाट
हेर्नुहोस मन्त्री ढकालको पहलकदमीमा सञ्चालीत योजना तथा कार्यक्रम