कानेपोखरी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै

असोज २३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–४, स्थित बयरवन स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल बन्ने भएको छ । मोरङ क्षेत्र नंं ३ का सांसद रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको विशेष पहलमा १५ शैयाको अस्पताल बन्ने भएको हो ।

अस्पताल निर्माणको लागि कानेपोखरी गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते पत्र पाएको थियो । अस्पताल निर्माणको लागि गत साउन २८ गते बसेको मन्त्री स्तरको बैंठकले १ करोड विनियोजन गरेको छ ।

अस्पताल भएपछि मेडिकल अफिसर १ जना स्थायी, ३ जना करार सहित ४ डाक्टर, २ स्टाफ नर्स, अनमी ४ जना रहने छन् । यसैगरी ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर १–१ जना हुने छ ।

१५ शैयाको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुनेछन् ।

‘कार्यान्वयनका लागि प्राथमिक अस्पताल स्थापना, स्तरोन्नति र सञ्चालनसम्बन्धी कार्यविधि(२०७५)का आधारमा नै १५ शैयाको अस्पताल बनाउन सुरू गरिएको हो । अस्पतालमा सेवाप्रवाहका लागि लाग्ने लागतको २० प्रतिशत स्थानीय सरकारको दायित्व हुने उक्त कार्यविधिमा उल्लेख छ ।

कानेपोखरी गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी रहेको छ । तीन स्वास्थ्य चौकी मध्ये गाउँपालिकाले बयरवन स्वास्थ्य चौकीलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकीको जग्गा, बजार क्षेत्र, जनधनत्व, सडक, सुरक्षा, सवैको पायक पर्ने भएकोले गाउँपालिकाले वयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नती लागि सुरु देखि नै अघि बढाएको छ ।

गाउँपालिकाले दुई बर्ष अघि देखि वयरवन स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरबाट महिनामा एकचोटी सेवा दिर्दै आएको छ । कानेपोखरी–४, बयरवन बजारमा २०३० सालमा स्थापना भएको वयरवन स्वास्थ्य चौकी ३७ बर्ष पछि अस्पतालमा रुपान्तरण हुने भएको हो ।

सम्बन्धित खवर