पथरी । मोरङको ४ पालिकाका न्यायिक समिति संयोजकहरुसंग उच्च अदालत विराटनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने योजनाका लागि छलफल सुरु गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्की, पथरीशनिश्चरेकी यामुना विष्ट बास्तोला, उर्लावारीकी लक्ष्मी भण्डारी र बेलबारीकी ढाकाकुमारी पराजुलीसंग छलफल गरेको हो ।
उनले जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा वताएका थिए ।
उनले पालिकाहरुमा जनप्रतिनिधिहरु र सामाजिक अगुवाहरुसँग छलफल गरेर प्रशिक्षण समेत प्रदान गरी न्याय सम्पादनमा सहयोग गर्ने समिति बनाएर जान सक्दा बढी प्रभावकारी हुने सोच राखेको बताए । आर्थिक अवस्था निम्न भएका तथा बेसहाराहरुका लागि मुद्धाको प्रक्रिया निःशुल्क अघि बढाउन अदालतले वकिलहरुको व्यवस्था गरेको पनि बताए ।
न्यायिक समितिमा जटिल प्रकारको विवाद आएमा तत्काल अदालतमा जानकारी गराउन अनुरोध गर्दै त्यस्ता विवादलाई तुरुन्त हेरेर न्याय सम्पादन गरिने उल्लेख गरेको पथरीशनिश्चरे उपप्रमुख यमुना विष्ट वास्तोलाले वताए । आइतबार जिल्ला अदालतको टोलीले प्रदेशमै सवैभन्दा बढी विवाद निरुपण गर्दै आएको पथरीशनिश्चरेको न्याय सम्पादनको अवस्थाका बारेमा अनुगमन् गर्ने भएको छ ।