बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न शिक्षा शाखाको अनुरोध

बैशाख २८ गते, पथरी । संस्थागत र सरकारी विद्यालयको बार्षिक परीक्षाको नतिजा आफ्नो सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्न शिक्षा शाखाले अनुरोध गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरुलाई गाउँपालिका शिक्षा शाखाले रिजल्ट प्रकाशन गर्न आग्रह गरेको हो । शिक्षा शाखाका स्रोत व्यक्ति प्रेम कार्कीले कोरोना भाइरसको महामारीको कारण देशमा भएको लकडाउनले शिक्षा क्षेत्र पनि ठुलो क्षती भएको बताए । यस २०७७ को शैक्षिक सत्र कहिले देखि सुरु हुने भन्ने बारेमा अन्योल रहेकोले विद्यालय आफु तयारी रहन बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न आवश्यक रहेको उनले बताए ।

कक्षा ८ को परीक्षाको नतिजाको बारेमा काम भैरहेकोले २, ४ दिन भित्र प्रकाशन गर्ने तयारी रहेको स्रोत व्यक्ति कार्कीले बताए । कानेपोखरी क्षेत्र भित्र १९ वटा संस्थागत र २३ वटा सरकारी गरी विद्यालयहरु रहेका छन् । परीक्षाको नतिजा केही संस्थागत विद्यालयले यस अघि नै फेसबुकपेज सामाजिक सञ्जालमा प्रकाशन गरी सकेको छ ।

यस अघि सरकारी विद्यालयले सरकारले तोकेको मितिमा परीक्षा गराएका थिए भने संस्थागत विद्यालयहरुले आफुखुसी परीक्षा गरेका थिए । केही संस्थागत विद्यालयले एउटा विषयको मात्र परीक्षा गराएका थिए । कसैले अन्तिम दिन २ देखी ३ वटा विषयको परीक्षा गरी सम्पन्न गरेका थिए ।

ढिलो सुरु गरेको परीक्षा गाउँपालिकाले रोकेको थियो । परीक्षा नै नभएको विद्यालयले परीक्षाको नतिजा कसरी निकाल्दो रहेछ भन्ने चाही हेर्न बाँकी छ ।

सम्बन्धित खवर