खेलकुद

१४ स्वर्णसहित सुनझोडा डोजाङ बन्यो प्रथम वडाध्यक्ष कपको च्याम्पियन

सिरुझार डोजाङ

१५ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलोमा आयोजित जिल्ला स्तरीय तेक्वान्दो प्रथम वडा अध्यक्ष कप–२०८३ प्रतियोगिताको उपाधि सुनझोडा डोजाङ, उर्लाबारीले जितेको छ ।

मोरङ सि.एच. आईटीएफ तेक्वान्दो संघको आयोजना तथा कानेपोखरी गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक १३ र १४ गते सञ्चालन भएको प्रतियोगितामा सुनझोडा डोजाङले १४ स्वर्ण पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ६ स्वर्ण पदकसहित उर्लाबारी –२, को सिरुझार डोजाङ फस्ट रनरअप र ४ स्वर्ण पदकसहित कानेपोखरी –२ मा रहेको दलेली डोजाङ सेकेण्ड रनरअप भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा पुरुषतर्फ सुजल भुजेल र महिला तर्फ रमाइलो डोजाङकी प्रमिला भुजेल उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई नगद १ हजार सहित ट्रफी प्रदान गरिएको थियो ।

दलेली डोजाङ

प्रतियोगितामा तेह्रथुम जिल्लाका शुक्रबारे डोजाङ, उर्लाबारीको सुनझोडा डोजाङ, सिरुझार डोजाङ र सुन पक्कुवा डोजाङ, कानेपोखरी गाउँपालिकाको रमाइलो डोजाङ र दलेली डोजाङ गरी जम्मा ६ वटा डोजाङबाट ११५ जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

त्यस्तै रेफ्रीमा नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघकी केन्द्रिय उपाध्यक्ष आस्मा श्रेष्ठ, कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा १० जना रेफ्रीले प्रतियोगिता सम्पन्न गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताले प्रायजसो ओझेलमा पर्ने तेक्वान्दो खेलको स्थानीय स्तरमा विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुगेको बताए ।

मोरङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघकी केन्द्रिय उपाध्यक्ष आस्मा श्रेष्ठ, कोशी प्रदेश सिएच.आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, न्यायिक समिति सदस्य दुर्गा नेपाली, वडा सदस्य राजकुमार लिम्बु रहेका थिए । त्यस्तै अतिथिहरुमा कोशी प्रदेश सिएच.आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष अशोक फुयल, कोशी प्रदेश सिएच.आईटीएफ तेक्वान्दो संघका सचिव दिनेश सुब्बा, सहसचिव राजकुमारी तामाङ, कोषाध्यक्ष अन्जुला श्रेष्ठ, सदस्य मनु लिम्बु, जेनिथ इङ्लिस स्कुलका प्रिन्सिपल पवन भट्टराई, रमाइलो युवा क्लबका सचिव एविन पाठक, समाज सेवी प्रकास धिकाल, कमल धिमा, विष्णु रोक्का लगायत रहेका थिए । कार्यक्रममा खेल प्रदर्शण गर्नुका साथै जेनिथ स्कुलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रमको संचालन खेल आयोजक समितिका सचिव सनम रोक्काले गरेका थिए ।

उत्कृष्ट खेलाडी सुजल भुजेल

महिला तर्फ उत्कृष्ट खेलाडी प्रमिला भुजेल

 

प्रतिक्रिया