झापा ५ मा एमालेको क्लिनस्वीप

झापा । झापा निर्वाचन क्षेत्र ५ मा एमालेले क्लिन स्वीप गरेको छ । झापा ५ को प्रतिनिधि सभा र प्रदेश सभाका दुवै क्षेत्र एमाले उम्मेद्वार विजयी भए ।

प्रतिनिधि सभातर्फ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ५ सय बढी मत पाएर निर्वाचित हुँदै गर्दा एमालेका हिक्मत कार्की र होमबहादुर थापाले पनि आफ्ना प्रतिस्पर्धीहरुमाथि विजय हात पारेसँगै एमालेले झापा ५ मा क्लिन स्वीप गरेको हो ।

प्रतिनिधि सभामा ओलीले ५२ हजार ३ सय १९ मत पाएर विजयी भए भने अधिकारीले २३ हजार ७ सय ४३ मत पाएर दोस्रो पटकको प्रतिस्पर्धामा पनि निरास बने ।

भक्तपुरस्थित बालकोटबाटै मतदान गरेका ओली बिहीबार भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न दमकस्थित निर्वाचन आयोग झापा क्षेत्र नम्बर ५ को कार्यालयमा उपस्थित भएका थिए ।

‘अब सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन गाह्रो हुनेभयो’, सो क्रममा उनले संक्षिप्त राजनीतिक टिप्पणी गर्दै ओलीले भने –‘मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक सांसदको भाउ बढ्यो । राजनीति १र२ महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो ।’

एमालेका स्थायी समिति सदस्यसमेत रहेका हिक्मत कार्की गठबन्धन उम्मेद्वार जीवन राईलाई ५ हजार ४ सय ७२ मतान्तरले पाखा लगाउँदै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भए । अघिल्लो पटक आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कार्कीलाई यस पटक एमालेले प्रदेश १ को भावी मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो ।

उनले २२ हजार ५ सय ३० मत पाउँदा उनका प्रतिस्पर्धी राईले १७ हजार ५८ मत पाए ।

त्यस्तै ६ हजार ८ सय १५ मतान्तरमा चुनाव जित्दै होमबहादुर थापाले प्रदेश सभाको यात्रा तय गरेका छन् । थापाले २४ हजार १ सय २९ मत पाउँदा उनका प्रतिस्पर्धी रेवतराज पुरीले १७ हजार ३ सय १४ मत पाए ।

प्रदेश सभा ९१० तर्फ जनमत पार्टीका दुन्नीलाल राजवंशी २ हजार ४ सय ८५, संघीय मञ्चका सूर्यप्रसाद लिम्बूले १ हजार ६ सय ५०, र जसपाका लछुमन लिम्बूले ७ सय ३ मत पाए ।

४७ हजार ९ सय ७४ मत खसेको सो क्षेत्रमा २ हवार २ सय १३ मत बदर भएको निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेश सभा ९२० तर्फ हाम्रो नेपाल पार्टीका छविलाल सिटौलाले २हजार १ सय ७१, संघीय मञ्चका धनराज लिम्बूले १ हजार ५ सय ६३ र जसपाका सुदिप राईले ९ सय ९४ मत पाए ।

५० हजार ८ सय २७ मत खसेको सो क्षेत्रमा २ हजार १२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर