एमाले जिल्ला सचिव खतिवडासहित संघीय सांसद  र पूर्वप्रदेश सांसद पार्टीबाट निस्कासित

पुस १५ गते, विराटनगर । नेकपा(एमाले) मोरङ पार्टीले रुपेश खतिवडासहित प्रतिनिधिसभाका वर्तमान सांसद योगेन्द्र मण्डल र प्रदेशसभाकी पूर्व सांसद बसन्तीदेवी यादवलाई पार्टी सदस्यतासमेत नरहने गरी निस्कासन गरेको छ ।

बुधबार बसेको एमाले मोरङको पाँचौं पूर्ण बैठकबाट पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले उनीहरूको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको व्यहोरा अनुमोदन गराएको हो ।

गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मुखैमा प्रदेश सदस्यसभा सदस्यको टिकट वितरण लगायतका सांगठानिक कामप्रति असन्तुष्टि जनाउँदै पार्टी सचिवबाट राजीनामा दिएका सचिव खतिवडालाई यसअघिको सचिवालय बैठकले १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समय दिएकोमा त्यसको जवाफ नआएको भन्दै पार्टी सदस्यता नरहने कारबाही गरेको जनाइएको छ ।

त्यसैगरी जसपा–एमालेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै पार्टी प्रदेश कमिटी सदस्य समेत रहेका योगेन्द्र मण्डललाई पनि साधारण सदस्यता नरहने गरी बैठकबाट कारबाही गरेको छ । मोरङको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेका मण्डलले एमालेसँग सहकार्य गरेका जसपाका राजकुमार यादवविरुद्ध उम्मेदवारी दिएर भारी मतान्तरले विजयी भएका थिए ।

बैठकले प्रदेशसभाकी समानुपातिक सांसद बसन्तीदेवी यादवको समेत पार्टी सदस्यबाट निस्कासन गरिएको छ । एमालेबाट समानुपातिकतर्फकी तत्कालीन प्रदेशसभा सदस्य यादवले पार्टी निर्णयविरुद्ध जनमत पार्टीबाट प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन् । आफू एक नम्बरमा सिफारिसमा परे पनि जसपासँगको सहकार्यका कारण उम्मेदवार बन्न नदिइएको भन्दै उनले जनमत पार्टीबाट उम्मेदवारी दर्ता गरेकी थिइन् ।

बैठकले निर्वाचनमा समयमा पार्टी विरोधी कार्य गरेका तथा पार्टीका उम्मेदवार हराउन गतिविधि गरेको भन्दै प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत लगायतलाई पनि पार्टी सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको जनाइएको छ ।

अध्यक्ष पोखरेलले अन्य जिल्लामा घर ठेगाना भएर निर्वाचनको समयमा मोरङमा आएर अरू पार्टीका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने पार्टी सदस्यहरूको नामावली तयार पारेर कारबाहीका लागि सम्बन्धित जिल्लामा सिफारिस गरिने बैठकमा घोषणा गरेका थिए ।

उनले पार्टीको विधानको धारा ८० बमोजिमको अनुशासन उल्लंघन गरेको भन्दै धारा ८१ को उपधारा १, २, ३, ४ र ५ बमोजिम पार्टी सदस्यता नरहने गरी कारबाही गरेको निर्णय बैठकमा अनुमोदन गराएका हुन् ।

बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय थप छलफल गर्दै निर्वाचनको समीक्षा प्रतिवेदन माघ १५ गतेभित्र जिल्ला कमिटीलाई बुझाउन निर्देशन दिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय कमिटी सदस्यहरू जीवन घिमिरे, विनोद ढकाल, रामलाल साह र युवराज बाँस्कोटालगायत उपस्थितिमा उक्त निर्णयहरू भएको जनाइएको छ ।

सम्बन्धित खवर