एक करोड राशीको प्रथम पुरस्कारको नृत्य र गायन प्रतियोगिता हुर्दै

राजकुमारी तामाङ
फागुन १० गते, दमक । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुने भएको छ ।

‘इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका’ ले अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना गर्ते भएको हो । मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स नामक अन्तर्राष्ट्रिय स्तरको रियालिटि सो दमकमा गर्ने भएको छ । बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर रियालिटी सो बारेमा जानकारी गराएको थियो ।

संसार भरी बस्ने नेपाली भाषीले सहभागिता जनाउन पाउने दुबै सो मा १८ वर्ष भन्दा माथीका प्रतियोगीले सहभागिता जनाउन पाउने आयोजक टिमका सदस्य राजेश घतानीले बताए । दुबै सो का प्रथम पुरस्कार १ करोडको रहेको छ भने दोश्रो ३० लाख र तेस्रो २० लाखको रहेको छ । सो मा कुनै सहप्रायोजक नरहेको र सम्पूर्ण आयोजना इन्ट्रा फाउन्डेसनले गर्ने आयोजकले पत्रकार सम्मेलनमा बताए ।

मेरो डान्स युनिभर्सको जर्जमा कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, नृत्य निर्देशन शंकर बिसि, नायिका प्रियंङका कार्की , केकी अधिकारी र नृत्य प्रशिक्षक नरमान राई रहने आयोजकले जनाएका छन् । यस्तै मेरो भोइस युनिभर्सको जर्जमा संगीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, गायक शिव परियार, गायक पुस्पन प्रधान र गायिका सुजता वर्मा रहेका छ्न ।

सो को फिल्ड अडिसन अमेरिका, क्यान्डा, युरोप, दुबई र नेपालको नेपालगन्जमा हुदैछ । यस्तै प्रदेश १ भरिकै लागि झापाको दमक स्थित श्री सरस्वती माबि ईट्टाभट्टामा २० र २१ गते हुदैछ । फिल्ड अडिसन पछि जर्ज अडिसन पनि दमकमा नै हुने छ ।

अन्तिम अडिसन नेपालको काठमाडौं, अस्ट्रेलिया र थाइल्यान्डमा हुनेछ । विश्वभरीका १२० जनालाई अन्तिम छनौट गरी नेपालको काठमाडौंमा प्रतियोगिता आयोजना गरिने छ र विभिन्न चरण गर्दै जर्ज द्वारा छनौट गरिनेछ र टप १२ देखि भोटिङ राउन्ड मार्फत जनताले नै चुन्न पाउने छन् । यस्तै सो लाई नेपाल टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरेको छ ।

४ जना भन्दा बढी ग्रुप डान्स लिएर आउनेलाई पनि स्थान दिइने र उनिहरुलाई छुट्टै प्रथम २० लाख, दोस्रो १५ लाख र तेस्रो ५ लाखको ब्यबस्था गरिएको छ । नेपाली भाषा र संकृतीको संरक्षण र प्रवर्धनका लागि आयोजना गरिएको घतानीले बताए । उनले भने “बिश्व भर छरिएका नेपालीले नेपाली भाषा बोल्दैनन तसर्थ हाम्रो परपम्परा, भाषा, रीतिरिवाज बचाउन संरक्षण गर्नकै लागि रियालिटी शो आयोजना गरेका हौँ ।’

इन्ट्राको आयोजनामा मेरो डान्स कप युएसए – सिजन ४’ र ’मेरो भ्वाइस कप युएसए – सिजन २’ सफलता पुर्वक सम्पन्न गरिसकेका छन । इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका एक अमेरिकामा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुको सामाजिक लोककल्याणकारी संस्था हो । यसको अध्यक्ष डिल्ली अधिकारी रहेका छ्न भने नेपालका अध्यक्ष नायक दिलिप रायमाझी रहेका छ्न ।

सम्बन्धित खवर