बैशाख ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । रायमाझीलाई नेकपा(एमाले) पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको छ ।
सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।
तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।