पथरीमा विश्व आदिवासी दिवसको भव्य मनाउने तयारी, आङ्काजी शेर्पा आउने

साउन २०, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समन्वय समितिले २९ औं विश्व आदिबासी दिवस भव्य मनाउने तयारी गरेको छ ।

नगर समन्वय समितिले शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम हुने बारे जानकारी गराएका थिए । आगामी साउन २४ गते पथरीशनिश्चरेको साकेला थानमा दिवस मनाउने तय गरेको छ । कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा प्रमुख वक्ताको रुपमा आउने भएका छन ।

कार्यक्रम सम्पन्न गर्न महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न नेपाल आदिवासी जनजाति महासंघको पूर्ब महासचिवसमेत रहेका आङ्काजी शेर्पा आउने निश्चित भएको आयोजक समितिको संयोजक देबेन्द्र वनेमले जनाएका छन् ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई लगायत वक्ताको रुपमा उपस्थितिहुने आयोजनक समितिले जनाएको छ । कार्यक्रममा राई, लिम्बू, मगर, गुरुङ, धिमालमा, भुजेल, राजवंशी, थारु, नेवार, माझी, सन्थाल, उराउ, सुनुवार, याक्खा, शेर्पा, दनुवार लगायत १८ भन्दा बढीको सांस्कृतिक नृत्य प्रस्तुत हुने आयोजक समितिले पत्रकार सम्मेलनमा बताए ।

सांस्कृतिक झाँकी प्रस्तुत अघि आदिवासी जनजाति अधिकार र पहिचानसम्बन्धी प्लेकार्ड बोकेर पथरी बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ । दिवसलाई भब्य बनाउन कला मगर, गंगा धिमाल, गीता याक्खा, कर्मबहादुर तामाङ, कृष्णराज सुनुवार, प्रेम राई, बिक्रम लिम्बू, टंक राना मगर, अर्जुन श्रेष्ठ लगायत ३८ सदस्यीय मूल समारोह समिति र आर्थिक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वयम सेवक लगायत सात वटा उपसमिति गठन गरेको छ ।

प्रदेश नं. १ मा पुनः नामाङ्कनको आन्दोलन चलिरहेकोले २९ औं विश्व आदिबासी दिवसलाई अभियानको प्रचार तथा आन्दोलनकै रुपमा मनाउने तयारी भइरहेको बुझिएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन १९९३ लाई विश्व आदिबासी दशकको रुपमा मनाउने निर्णय भएदेखि अगष्ट ९ मा विश्वभरका आदिबासी जनजातिहरुले दिवस मनाउदै आएको छ । यो बर्ष नेपाल आदिबासी जनजाति महासंघ संघीय समितिले सप्ताह ब्यापी रुपमा दिवस मनाउने तयारी गरिरहेको महासचिव दिवस राईले बताए ।

सम्बन्धित खवर