आफ्न्त कोही नआएपछि पुरुषको शव कानेपोखरीको जंगलमा गाडियो

असोज २४, कानेपोखरी । ६ दिन सम्म पनि आफ्न्त कोही नआएपछि एक पुरुषको शव मोरङको कानेपोखरीको जंगलमा गाडिएको छ ।

अस्थाई प्रहरी चौकी कानेपोखरीको रोहवरमा कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलको नेतृत्वको टोलीले बुधबार पहिचान नभएको शवलाई जंगलमा गाडेका हुन । कानेपोखरी नगरप्रहरीको टोलीले आजै उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेबाट शवको पोष्टमाटम गरी ल्याएका थिए ।

लगभग ४५ बर्ष उमेर, मधेशी मुलका जस्ता देखिने पुरुषको स्थानीयले असोज १९ गते वडा नं. ५ स्थित चिंसाङ खोला छेउमा अचेत अवस्थामा फेला पारेका थिए । अचेत अवस्थामा फेला पारेको पुरुषको कानेपोखरी नगरप्रहरीको टोलीले उद्दार गरी उपचारको लागि कानेपोखरी अस्पताल लगेका थिए । अस्पतालमा तीनदिन सम्म विरामीको उपचार गरेको नगर प्रहरी प्रमुख युवराज भुजेलले बताए ।

उनको असोज २१ गते आइतबार उपचारकै क्रममा अस्पतालमै निधन भएको थियो । निधन भएपछि शवलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको थियो । उतिखेर नै नगरप्रहरीले पहिचानको लागि कानेपोखरी गाउँपालिका दमकल फेसबुक पेजमा फोटो राखेर सूचना गरेको थियो । आफ्न्त कोही नआएपछि शव जंगलमा गाडेको नगरप्रहरी प्रमुख भुजेल बताउँछन् ।

सम्बन्धित खवर