आइतवार, कार्तिक १६, २०८२

सिरिजंगा स्मृति धार्मिक वनमा हुने ‘चासोक तङ्नाम’ को भव्य तयारी

४ पुस, पथरी । पथरीमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक वनले लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम(उधौली) पुजाको भव्य तयारी गरेको छ । पुस ७ गतेदेखि १० गते सम्म हुने चासोक तङ्नाम(उधौली) पुजाको दैनिक तालिका मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

मोरङको पथरीशनिश्चरे–१० मा रहेको सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा लिम्बु समुदायको महान पर्व चासोक तङ्नाम, उधौली पूजा तथा येले संवत् ५०८३ का अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक तथा सिरिजंगा स्मृति धार्मिक वनका अध्यक्ष डम्बर चोङ्बाङले बताए ।

किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरेका अध्यक्ष विक्रम लिम्बुले “सिरिजंगा स्मृति खुल्ला भलिबल प्रतियोगिता–२०८०” हुने बारे जानकारी गराउर्दै भलिबल प्रतियोगिता पुस ७ र ८ गते सम्म हुने बताए । उनले खेल्ने टिमको नाम सार्वजनिक गरी ए र बि पोलबाट खेल्ने समूहको चिट्ठा मार्फत टुङ्गो लगाएका थिए । भलिबलको लागि १० वटा टिम सहभागिता भएका छन् । भलिबल प्रतियोगितामा विजेता टिमले ६० हजार र उपविजेता टिमले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यसैगरी पुस ९ गते धनुष, छेलो, लङ्जम्प, भाले जुधाईं, डोरी तान्ने जस्ता लिम्बु समुदायका विभिन्न ऐतिहासिक खेलहरूको खेलाइने छ । पुस १० गते बिहान पूजाआजा–प्रसाद ग्रहण कार्यक्रम र पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा विभिन्न औपचारीक कार्यक्रमहरु गरी समापन गरिने अध्यक्ष चोङ्बाङले बताए ।

लिम्बु समुदायको ऐतिहासिक तथा साँस्कृतिक कार्यक्रमहरु जस्तै केलाङ, येवा लाङ, यालाङ, हाक्पारे, ख्याली, पालाम आदि हुने आयोजकका मनि लुङ्फुङ्वाले जानकारी दिए । सोही साँझ द भ्वाइस अफ नेपाल सिजन ४ की प्रथम रनर अप सविना योङ्गहाङ, स्थानीय गायक नन्दु गुरुङ, पुष्प राई, जगत राई समेतको बेजोड सांगीतिक प्रस्तुति रहने प्रचार संयोजक रोशन मादेम्बाले जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर र सिरिजंगा धार्मिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा चासोक तङ्नाम हुने भएको हो ।पत्रकार सम्मेलनमा केशव कुरुङ्बाङ, गणेश थक्लुङ, रोशन मादेम्बा, जोन सुब्बा लगायतका युवाहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.