शनिबार, मंसिर ६, २०८२

एमालेको २० ग्यारेन्टी : खाडीमा हैन स्वदेशमा जवानीदेखि नो लाइन, सेवा अनलाइनसम्म

कार्तिक १५ गते, काठमाडौं । नेकपा(एमाले)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा पार्टीको घोषणा सार्वजनिक गरेको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । एमालेले पाँच वर्षमा गर्ने २० ग्यारेन्टी घोषणापत्रमा उल्लेख गरेको छ । ‘पाँच वर्षमा एमालेको ः २० ग्यारेन्टी’मा एमालेले लोकप्रिय कार्यक्रम अघि सारेको छ ।

चुनावी घोषणापत्र कार्यक्रम सधैं भन्दा फरक गरी आयोजना गरिएको थियो । मञ्चमा लम्बेतान मन्तव्य र आशनग्रहण गराइएन । घोषणापत्र कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले सुरु गरेकी गरिन् । त्यसपछि अध्यक्ष ओलीले डिजिटल हस्ताक्षरद्वारा घोषणापत्र सार्वजनिक गरे । पूर्वबैंकर अनिलकेशरी शाह ‘मोडरेटर’ का रुपमा प्रस्तुत भए । उनले अध्यक्ष केपी शर्मा ओलीसँग स्टेजमा संवाद गरे ।

निर्वाचन गठबन्धनको स्वेच्छाचारी चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर : ओली
यसैविच आगामी निर्वाचनको घोषणापत्रसँगै एक अपिल जारी गर्दै ओलीले आगामी निर्वाचन संकटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको बताए । ‘आगामी निर्वाचन यस सङ्कटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर हो । षड्यन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनःस्थापित गर्ने मूल्यवान मौका हो’,  उनले भने, ‘आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौं भनी संसारलाई देखाउने अनुकूल समय हो । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनतासमक्ष हार्दिक अनुरोध गर्दछौं ।’

ओलीले जनादेश विस्थापित हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरु भएकाले अहिलेको अवस्था आएको बताएका हुन् । अपलिमा उनले भनेका छन्, ‘प्राप्त जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवं लोकतान्त्रिक विधि थियो । तर, त्यसो हुन दिइएन । अदालतको चरम दुरूपयोग र संविधानको अपव्याख्या गरियो, सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित भयो, शक्ति पृथकीकरणको सिद्धान्त कुल्चिइयो र कानून र सरकार निर्माण एवं परिवर्तन गर्ने संसदको अधिकारलाई कुल्चिँदै अदालतका परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने अलोकतान्त्रिक एवं स्वेच्छाचारी नजिर स्थापित गरियो ।’

लोकतान्त्रिक प्रणालीको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको ह्विपसमेत नलाग्ने निर्दलीय अभ्यास सुरु आरोप लगाएका छन् ।

‘ताजा जनादेशका लागि जनताका बीचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवं असंसदीय तरिकाबाट परमादेशमार्फत सरकार बनाउनुलाई ‘अग्रगमन’ को जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरियो । गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीतिविहीन र सत्तास्वार्थको बन्दी बनाइयो’, उनको भनाइ छ ।

१ पहिलो सेसनः समृद्धि अधिवेशन
२ नागरिकताः नेपालीलाई मात्र
३ हङ्गर : नो लङ्गर
४ उत्पादन स्वदेशी : बजार विदेशी
५ सुरक्षिति छानाः सबैको चाहना
६ कमाइ : युवाको रोजाइ
७ पढाइ : भविष्यको जग बसाइ
८ प्रेसर–सगुर : भइन्न बिरामी औषधि बेगर
९ फ्रि मिटरः दश हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेत बारीमा पानीः खाडीमा हैन, स्वदेशमा जवानी
१२ दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार
१३ भूमिगत तारः सहर बजार
१४ नो लाइन : सेवा अनलाइन
१५ ५ लाख रोजगारः न्ययूनतम ज्याला २५ हजार
१६ समृद्धिसङ्गको नाताः सबैको बैैंक खाता
१७ स्वस्थ्य महिनाबारी : १५ सय बर्षभरी
१८ फाइभ जी सञ्चारः आइटीमा चमत्कार
१९ हामी सामाजिक : सभ्य नागरिक
२० हाम्रो अर्थः १०० खर्व

माथिको २० ग्यारेन्टीको थप व्याख्या
ग्यारेन्टी १ः समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
ग्यारेन्टी २ः राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
ग्यारेन्टी ३ः ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर
ग्यारेन्टी ४ः स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान
सञ्चालन गर्ने
ग्यारेन्टी ५ः आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
ग्यारेन्टी ६ः सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
ग्यारेन्टी ७ः ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी ८ः ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने
ग्यारेन्टी ९ः स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने
ग्यारेन्टी १०ः ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने
ग्यारेन्टी ११ः ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने
ग्यारेन्टी १२ः सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
ग्यारेन्टी १३ः ‘व्यवस्थित शहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन गर्ने
ग्यारेन्टी १४ः ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने
ग्यारेन्टी १५ः सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
ग्यारेन्टी १६ः सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
ग्यारेन्टी १७ः ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी १८ः सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
ग्यारेन्टी १९ः ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी २०ः प्रतिव्यक्ति आय दोब्बर गर्ने

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.