सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्यमा भगवती चौधरी निर्वाचित

सुनसरी । सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको सातौं संसद यात्रामा ‘ब्रेक’ लगाउँदै चौधरी निवार्चित भएकी हुन ।

मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले गच्छदारलाई ५ हजार १ सय १८ मतान्तरले हराएकी हुन् । भगवती चौधरी ४० हजार ७ सय ८८ मत ल्याउँदा निकटम प्रतिद्धन्दी विजय कुमार गच्छदारले ३५ हजार ६ सय ल्याएका थिए ।

सुनसरी–३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी छन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियुमा २०४८ सालमा संगठित बनेकी भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि हुन् ।

सुनसरीको दुहबी ३ की बासिन्दा उनले २०५१ सालमा ‘फरवार्ड एनजिओ’ स्थापना गरेर विभिन्न शैक्षिक तथा सामाजिक काममा हात हालेकी थिइन् । त्यही एनजिओलाई २०५९ मा लघुवित्तमा रूपान्तरण गरेकी उनले त्यही सालबाट सक्रिय राजनीतिमा पूरा समय दिन थालेकी थिइन् ।

२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधान सभा प्रवेश गरेकी उनी एकपटक वन राज्यमन्त्री पनि भएकी थिइन् ।

२०७० मा पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिष्पर्धामा ओर्लेकी भगवती त्यसबेला गच्छदारसँगै झिनो अन्तरले पराजित बनेकी थिइन् ।

त्यही नियति २०७४ मा पनि दोहोरियो । वाम गठबन्धन भएका बेला पनि उनी उस्तै झिनो मतले पराजित भइन् । यद्यपि दुबै निर्वाचनमा आफूलाई धाँधली गरेर हराइएको आरोप उनले लगाउँदै आएकी थिए ।

 

सम्बन्धित खवर